Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोखरामा इन्स्टिच्युटको भवन भासियो

पोखरा । अविरल वर्षाका कारण पोखराको लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । गएराति करिब २ बजेतिर भएको सो घटनामा मानवीय क्षति टरे पनि होस्टेलको भान्सातर्फको भाग पूरै क्षति भएको छ ।

स्थानीयवासी एवं पोखरा मन्टेसरी स्कुलका सञ्चालक थिरबहादुर थापाले भने,गएराति अविरल वर्षाका कारण राति १२ बजेतिर नालीको पानी लिक भएपछि खाल्डो बनेको र राति करिब २ बजेतिर भवनको दक्षिणतर्फ रहेको भान्सा भासिएको रहेछ । ब्लकले बनेको उक्त भवन एकतले हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निरन्तर वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराउन लागिएको छ । लामाचौरको गैह्राबारीस्थित उक्त होस्टेलमा करिब ४० जना विद्यार्थी बस्छन् । यो लामाचौर इन्जिनियरिङ कलेजभन्दा माथि र इन्द्रराज्य लक्ष्मी माविभन्दा थोरै तल पर्दछ ।

पोहोर साउनमा पनि लामाचौर नजिकै बाटुलचौरको डाँडाथोक मार्गको सडक भासिएको थियो । पिच सडक भासिएपछि त्यहाँको बस्ती नै जोखिममा परेको थियो । सडक भासिएपछि परेको भ्वाङ पुर्न आएको टिपरसमेत खाल्डोमा फसेको थियो ।

पोखराको अर्मलाको घटना कसैले बिर्सेका छैनन् । पोखरामा वर्षायाममा सडक भासिनु सामान्य झैं हुन थालेको छ । पोखरामा नालीको व्यवस्थापन राम्रो छैन । वर्षायाममा यहाँ नाली भरिएर सडकबाटै खोलो बग्ने गर्दछ ।

यहाँको माटो चुनयुक्त भएकोले पानीमा घुलिँदा चुन पग्लिएर माटोको भारबहन क्षमता घटेपछि जमिन भासिने गरेको भूगोलविद् प्राडा कृष्ण केसीको भनाइ छ ।