Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको ८ दिने चीन भ्रमणको घोषणा: हाङजाउमा सी चिनफिङसँग भेट्ने, तिब्बतको ल्हासा पनि पुग्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले यही असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्ने जनाएको हो।

हाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा छन्। आज उनले महासभालाई सम्बोधन गर्ने कार्यातालिका रहेको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डिनरमा सहभागी भएर उनी चीनका लागि प्रस्थान गर्नेछन्।

प्रचण्ड चीन जाने यसअघि नै पक्का भए पनि औपचारिक घोषणा मन्त्रालय आजमात्र गरेको हो। असार ६ गते हाङजाउमा आयोजना हुने १९ औं एसिसन गेम्सको उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी हुनेछन्।

भ्रमणका क्रममा हाङजाउमा प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि भेटवार्ता हुनेछ। साथै प्रचण्ड र चीनका प्रधानमन्त्री लि क्वाङबीच द्विपक्षीय भेट हुनेछ। यस्तै, हाङजाउबाट बेइजिङ पुगेर प्रचण्डले चीन(नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ।

चीन भ्रमणका क्रममा प्रचण्डको टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत सहभागी हुनेछन्। उनको भ्रमणका सरकारका उच्च अधिकारीसँगै व्यापारिक क्षेत्रबाट पनि सहभागिता हुने मन्त्रालयले जनाएको छ।

द्विपक्षीय वार्तामा उर्जा, जलस्रोत, राजमार्ग, विमानस्थल र नाका संचालन बारे छलफल हुने बताइएको छ। त्यसक्रममा यसअघि निर्माण सम्पन्न भएका आयोजनाहरुको पनि हस्तान्तरण गरिने जनाइएको छ।

चीनमा रहँदा प्रचण्ड चोङकिङ नगर पनि पुग्नेछन्। त्यहाँ उनले कृषि र औद्योगिक विकासको अवलोकन गर्नेछन्। साथै, नेपालसँग सीमा जोडिएको तिब्बतको ल्हासामा समेत प्रचण्ड पुग्नेछन्।

प्रचण्ड असोज १३ गते ल्हासाबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ।