Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमको सम्बोधनमा चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, संवैधानिक दायरमा अघि बढ्ने कुरामा यो सरकार प्रशन्नतापूर्वक आलोचना स्वीकार गर्छ । तर, सरकारको आलोचनाका लागि प्रतिगमन ल्याउँछु, प्रणाली उल्ट्याँछौं भन्ने कुरा यो सरकारलाई स्वीकार्य हुँदैन । उनको निशाना पूर्व राजावादीहरुप्रति र विप्लवप्रति थियो ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको शासनविरोधी क्रियाकलाप नगर्न पनि चेतावनी दिए । एकजनाले प्रधानमन्त्री लगलग कामेका छन्, पद जानेभो भने रे, प्रधानमन्त्री ओलीले भने, पद नगएको मानिस दुनियामा कोही देखेको छैन । राजा महाराजा, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वानपछि आफूलाई पनि पदमा बस्ने कुनै रहर नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु, प्रधानमन्त्री ओलीको यो भनाई सत्ताको आन्तरिक भागवण्डातिर पनि लक्षित छ । ओलीले भने, केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार लगलग काम्यो भन्ने दिवा सपना नदेखे हुन्थ्यो । यो सरकार चुनौतीको सामना गरेर आएको हो ।
सरकार लोकतन्त्रप्रति पूर्ण प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले अधिनायकवादतर्फ गयो भन्ने खालका कुरा नगर्न भन्दै विपक्षीहरुलाई सचेत गराए । सरकार अधिनायकवादी भएको भन्ने खालका कुरा गर्दा जनताले पनि नपत्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि कानूनी राज तथा अशिक्षा र पछौटेपनाबाट अन्मुक्ति आवश्यक रहेको पनि बताए ।
हामीले सम्पन्नता हासिल गर्ने कुरामा, शान्ति सुरक्षा कायम गर्ने कुरामा, समानताका कुरामा, नागरिकले जीवनयापन गर्न पाउने अवस्था सिर्जना गर्न पाउने कुरामा ध्यान केन्द्रित गरेका छौं, प्रधानमन्त्री ओलीले भने ।