Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फोहोर व्यवस्थापन गर्न तम्सिए बालेन र सुनिता, पुगे सिसडोल

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल गएको उपमेयर सुनिता डंगोलले बताइन् ।
काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदा आएका मेयर साह चुनाव जितेलगत्तै पनि सिसडोल पुगेका थिए । मेयर साह र उपमेयर डंगोल एकैचोटि सिसडोल पुगेको यो पहिलोचोटि हो । डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन् ।

फोहर व्यवस्थापनबारे झाँक्रीसँग छलफल
काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकिरहेको बेला काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटवार्ता गरेका छन् । बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा नगरप्रमुख साहले मन्त्री झाँक्रीसँग भेटवार्ता गरेका हुन् । बिहीबार मन्त्रालयमा मन्त्री भेट्न पुगेका नगरप्रमुख साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताइन् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख साह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताइन् ।
तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरडाडाँमा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी रहेको बताउँदै उनले महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार रहेको बताइन् । नगरप्रमुख साहले बन्चरेडाडाडाँ ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न आग्रह गरे । उनले काठमाडौंको फोहोर बन्चरेडाडाँमा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन मन्त्रालयसँग माग गरे ।
उक्त भेटवार्तामा बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रविन्द्र बोहराले बन्चरेडाडाँमा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिए । उनले बन्चरेडाडाँको दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनका लागि घरघरमै फोहोर वर्गीकरण गरेर संकलन गर्न आवश्यक रहेकोमा जोड दिए । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले बन्चरेडाँडामा सेल वानको निर्माण सम्पन्न गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ भने सेल टुको काम अन्तिम चरणमा पुगेको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल