Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजेट पेश गरेर प्रधानमन्त्री दक्षिणतिर, के के छन् एजेन्डा

काठमाडौँ । निकै लामो प्रतिक्षापति प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो विदेश भ्रमण जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।
चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले पनि भ्रमणको गृहकार्य भइरहेको जानकारी दिए । वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो । परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । सोही दिन उनलाई भारतका विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुनेछन् । सोही दिन वा जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई जाने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौं फर्कनेछन् । गृहकार्यका लागि परराष्ट्रमन्त्री साउदले पूर्वपरराष्ट्रमन्त्रीहरू, भारतका लागि पूर्वराजदूत तथा विज्ञहरू र पूर्वपरराष्ट्र सचिवहरूसँग सुझाव लिइसकेका छन् । दुई मुलुकबीचका सीमा समस्या, सन्धि सम्झौता, द्विपक्षीय व्यापार, आपसी सहयोगलगायत विषयमा मुलुकको हितका लागि एजेन्डा तय गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूबाट बिहीबार र शुक्रबार सुझाव लिइसकेका छन् । नेपाल र भारतबीच सम्बन्धनमा उठेका प्रश्नहरूको सम्बोधन गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह ९ईपीजी० को प्रतिवेदन ग्रहण गर्नेबारे वार्ता गर्न पनि सुझाव दिएका थिए । साथै, दुई मुलुकबीच सम्बन्ध बलियो बनाउनुपर्नेमा उनीहरूको जोड थियो । परराष्ट्र मन्त्रालयले नेपालका तर्फबाट भ्रमणमा उठाउनुपर्ने विषयमा गहन छलफल भएको जनाएको छ । व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पर्यटन तथा सांस्कृतिक सम्बन्ध, जनस्तरलगायत विषयबारे छलफल गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूलाई बोलाएको थियो ।
परराष्ट्र मन्त्रालयतर्फबाट दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीको संयोजकत्वमा एजेन्डाहरूका बारेमा छलफल भइरहेको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव शंकरदास बैरागीले एजेन्डाबारे समन्वय गरेर गृहकार्य गरिरहेका छन् । कार्यालयबाट परराष्ट्रले वाणिज्य, ऊर्जा, भौतिक, रक्षा र कृषि मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका प्रतिनिधिसँग आ–आफ्नो मन्त्रालयको एजेन्डाबारे छलफल गरिसकेको छ । दुई मुलुकबीच भ्रमणका दौरान हुन सक्ने साझेदारी र हुने छलफलको विषयमा परराष्ट्र मन्त्रालयले पनि गृहकार्य गरिरहेको छ । परराष्ट्र स्रोतका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको प्रस्ताव, १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), ई–वालेटलगायत विषयमा छलफल गर्ने गृहकार्य भइरहेको छ । प्रधानमन्त्री भएलगत्तै दाहालले पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । दाहालले प्रधानमन्त्रीका रूपमा यसअघि दुई पटक भारत भ्रमण गरिसकेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा भने पहिलो भ्रमण चीनबाट गरेका थिए । बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन उनी चीन गएका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए तर बेइजिङबाट फर्केलगत्तै उनले आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने दाबी गरेका थिए । दाहाल सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए ।