Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्द कोठामा रवि–बालेनबीच पाँच घण्टादेखि छलफल जारी

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत आइतबार बिहान ८ बजेदेखि सुरु हुने तय गरिएको बन्दसत्र शीर्ष नेताहरूबीचको लामो छलफलका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहबीच महाधिवेशनसँग सम्बन्धित विभिन्न विषयमा पाँच घण्टादेखि छलफल जारी रहेकाले बन्दसत्र प्रभावित भएको हो।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले बन्दसत्र शीघ्र सुरु गर्न माग गरिरहेका छन्। तर, प्रदेशगत प्रतिनिधिको संख्या मिलाउने, विवाद समाधान गर्ने तथा सभापति लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने विषयमा दुई नेताबीच सहमति जुट्न बाँकी रहेको स्रोतले जनाएको छ।

पार्टी सचिवालयका अनुसार राजनीतिक प्रतिवेदनमा अन्य दलप्रतिको दृष्टिकोण, सरकारसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध तथा अर्थनीतिसम्बन्धी विषय समेटिनेछ। प्रतिवेदनमा छुटेका विषय समावेश गर्न प्रधानमन्त्री शाहले समेत सुझाव दिएका छन्।

लटौली स्याङ्चुरी रिसोर्टमा जारी छलफलमा हाल दुई नेतामात्र सहभागी छन्। बिहानको छलफलमा भने उपसभापति डा. स्वर्णिम वाग्ले, सुनिल लम्साल र सस्मित पोखरेल केही समय सहभागी भएको स्रोतको दाबी छ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने वा पदाधिकारीका केही पदमा निर्वाचनमा जाने विषयमा पनि शीर्ष तहमा छलफल भइरहेको बताइएको छ। सचिवालय स्रोतका अनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा सचिवालय सदस्यहरूको नाममा सहमति जुटाउने प्रयास भइरहेको छ।

स्रोतका अनुसार ९९ सदस्यीय केन्द्रीय समिति भने निर्वाचनमार्फत चयन गरिनेछ। ती पदका लागि करिब ४ हजार ५०० जना आकांक्षी रहेको बताइएको छ।

यस्तै, बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। उक्त प्रतिवेदनलाई पनि शीर्ष नेतृत्वले अन्तिम रूप दिएको जनाइएको छ।

पार्टीको संशोधित विधानलाई समेत अन्तिम रूप दिने काम भइरहेको छ। सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा तयार पारिएको संशोधित विधान बन्दसत्रबाट पारित गरिने कार्यतालिका रहेको छ।

महाधिवेशनस्थलमा रहेका एक प्रतिनिधिका अनुसार महत्त्वपूर्ण विषयहरूमा सहमति जुटाउने प्रयास जारी रहेकाले अपराह्न ४ बजाअघि बन्दसत्र सुरु हुने सम्भावना कम छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले महाधिवेशनपछि कुनै गुट–उपगुट नरहने गरी पार्टीलाई एकढिक्का बनाउने प्रयास भइरहेको बताएका छन्।


सम्बन्धित समाचार