Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कारपछि जलाएर भाउजूको हत्या गर्ने देवर जीवनभर जेलमै

काठमाडौं । आफ्नी भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी हत्या गरेको अभियोगमा दार्चुला जिल्ला अदालतले एक अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई अदालतले बुधबार आजीवन काराबासको सजाय सुनाएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले जानकारी दिए। खडायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारवासको सजाय सुनाइएको छ।
दार्चुलाका जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले बुधबार खडायतलाई आजीवन कारावासको सजाय सुनाएको अदालतका श्रेष्तेदार कौशल ज्ञवालीले बताएका छन्। अभियुक्तलाई आजीवन कारावास भएको छ, ज्ञवालीले भने, अब उनी जीवनभर जेलमै बस्छन्।
ज्ञवालीका अनुसार जबरजस्ती करणीवापत अभियुक्तलाई ७ वर्ष जेल र २ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने हाडनाता करणीमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै, बलात्कार र हत्यापछि मृतकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको छ। मृतक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको श्रेष्तेदार ज्ञवालीले जानकारी दिए।
गत जेठ २५ गते राति २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको अभियोजनपत्रमा उल्लेख छ। त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी जिउँदै जलाएर अनिभाको हत्या भएको थियो । बलात्कारपछि कडायतले अनिभाको कान र नाकमा लगाएको सुनका गहनासमेत लुटेर लगेका थिए।