Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बल्ल जुर्यो बामदेवको साइत

काठमाडौं । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार हर प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् । निर्वाचन हारे पनि सांसद र मन्त्री बन्ने नेपाली राजनीतिभित्र वर्षौंदेखि हुर्किइरहेको विकृतिको शृंखलामा फेरि नयाँ अध्याय थपिन लागेको हो । त्यसो त चुनाव हारेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा छिरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बसेको सचिवालय बैठकमा गत फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्ने बताएसँगै केही दिनमा गौतमले राष्ट्रिय सभाको यात्रा गर्ने निश्चित भएको छ । गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । यही बैठक अर्थमन्त्री युवराज खतिवडाका लागि भने अन्तिम हुनेछ । शपथ लिएसँगै राष्ट्रिय सभामा गौतमको कार्यकाल साढे ५ वर्षको हुनेछ ।

प्रधानमन्त्री ओलीले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टी निर्णय कार्यान्वयन गर्ने जानकारी दिएको र त्यसले आफूलाई खुसी बनाएको प्रतिक्रिया गौतमले दिए । अर्थमन्त्री खतिवडालाई नै राष्ट्रिय सभा सदस्यका रूपमा निरन्तरता दिने र बाँकी कार्यकाल पनि उनैलाई नै अर्थमन्त्री बनाउने योजनामा प्रधानमन्त्री ओलीले अन्तिमसम्म कसरत गरेका थिए । बुधबार साँझ नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालसँग भएको भेट र बिहीबार दिउँसो प्रधानमन्त्रीसँगको कुराकानीमा खतिवडाले आफूलाई पुनः अर्थमन्त्रीमा दोहोरिन रहर नभएको बताएका थिए ।