Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाढीपहिरोमा परेर १०४ जनाको ज्यान गयो, ४१ अझै बेपत्ता

काठमाडौँ । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ भने अरवौंको कृषि बाली नष्ट भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४१ जना हराइरहेका छन् । उनका अनुसार सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । इलाममा १४, पाँचथरमा २८, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १र१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ । २० जना घाइते र १३ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् । डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ । २१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३, वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । ‘विपद्‍का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन्,’ बिहीबार साँझको प्रहरी बुलेटिनमा भनिएको छ ।
प्यूठानको अरङखोलामा बगेर बेपत्ता भएका थप एक जनाको शव बिहीबार बिहान फेला परेको छ । माण्डवी गाउँपालिका–४ आँपचौरका दुई वर्षीय दिनेश कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता, प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । शव त्रिवेणीधाम बगरमा स्थानीयले फेला पारेका थिए । उनीसँगै अरङखोलाले बगाएकी २८ वर्षीया देवीसरा कार्कीको बुधबार नै मृत्यु भएको थियो । एक जना अझै बेपत्ता छन् । स्थानीय ८ वर्षीया अनुस्का अधिकारी बेपत्ता रहेको र उनको खोजी भइरहेको गैरेले बताए । इलामको माङ्सेबुङ–६ मा पहिरोमा पुरिएकी ५३ वर्षीया हरिमाया राईको पनि बिहीबार शव फेला परेको छ । यसअघि उक्त स्थानबाट हरिप्रसाद राई र कविता राईको शव निकालिएको थियो भने ३ जनालाई सकुशल उद्धार गरिएको थियो । तीमध्ये गम्भीर घाइते भक्तकुमारी राई र जनम राईलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धरानको घोपा क्याम्पमा उपचारका लागि लगिएको छ । रनश्वरी राई अझै बेपत्ता छिन् । इलाम नगरपालिका–२ घर भएका ठाकुर याक्खा र माङ्सेबुङ–२ का सुमन राई, स्थानीय विद्यालयका प्रधानाध्यापक विष्णु लावती पनि बेपत्ता छन् । माङ्सेबुङको पञ्चमीस्थित बाँझो स्वास्थ्यचौकीमा कार्यरत राई र याक्खा सोमबार साँझ पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कुरुम्बामा पहिरोले घाइते बनाएकाहरूको उपचारमा गएको अवस्थामा बेपत्ता भएको स्थानीयले बताएका छन् । यसअघि फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जना, सूर्योदय नगरपालिकामा ३ जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो । त्यस्तै, देउमाई नगरपालिकामा १ जनालाई खोलाले बगाएर तथा माई नगरपालिकामा हुरीले रूखको हाँगा खस्दा थप एकको ज्यान गएको थियो ।
बाढीले मोटरसाइकलसहित बगाएको सुनसरीका एक पुरुषको पनि शव भेटिएको छ । सुनसरी प्रहरीका डीएसपी नगेन्द्रकुमार कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–२ शान्तिनगर बस्ने ३१ वर्षीय योगेन्द्र तिवारीको शव आँपगाछीमा बिहीबार बिहान फेला परेको हो । मंगलबार दिउँसो बाढीले तिवारीलाई तरहराको पानीपियाबाट मोटरसाइकलसहित बगाएको थियो । बाढीले बगाएका अन्दाजी ६० वर्षीय पुरुषको शव बुधबार दिउँसो आर्मी क्याम्पनजिकै फेला परेको थियो । सताही मण्डल, राजकुमार राई, रोशन बुढाथोकी र ईश्वरी पराजुली अझै बेपत्ता छन् ।