Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेभित्र निर्वाचन पराजयको समीक्षा र पार्टी पुनर्गठनका विषयमा तयार पारिएका दुई फरक प्रतिवेदनले आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेको ६५ पृष्ठको मसौदाभन्दा फरक धारणा समेटेर कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले ३९ पृष्ठको छुट्टै प्रतिवेदन तयार पारेका छन्।
नेपालखबरलाई प्राप्त बादलको प्रतिवेदनमा पोखरेलको मसौदामा समेटिएका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा, विशेष महाधिवेशन तथा नेतृत्व हस्तान्तरणलगायतका प्रस्ताव हटाइएको छ। ओलीको निर्देशनमा तयार पारिएको भनिएको उक्त प्रतिवेदन अध्यक्षले स्वीकार गरेपछि शुक्रबार कार्यदलको बैठक बोलाइएको छ। बैठकमा महासचिव पोखरेलले भने आफूले तयार पारेको मूल मसौदा नै पेस गर्ने तयारी गरेको नेताहरूको भनाइ छ।
फागुन २१ गते सम्पन्न आम निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिटमा सीमित हुँदै तेस्रो दल बनेपछि निर्वाचन परिणामको समीक्षा गर्न जेठ १० गते बसेको केन्द्रीय सचिवालय बैठकले १५ सदस्यीय कार्यदल गठन गरेको थियो। वरिष्ठ उपाध्यक्ष बादलको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवद्वय पद्मा अर्याल र भानुभक्त ढकाल तथा विभिन्न प्रदेशका इन्चार्जहरू सदस्य थिए।
कार्यदलले जेठ ३० गतेदेखि १३ वटा समूहमा छलफल गरी सुझाव सङ्कलन गरेको थियो। त्यसपछि संयोजक बादलले प्रतिवेदनको मसौदा तयार गर्ने जिम्मेवारी सदस्यसचिव पोखरेललाई दिएका थिए। सोहीअनुसार पोखरेलले ६५ पृष्ठको मसौदा तयार गरी अध्यक्ष ओली र संयोजक बादललाई बुझाएका थिए।
पोखरेलको मसौदामा २०६४ सालको निर्वाचनमा एमाले पराजित भएपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएको दृष्टान्त प्रस्तुत गर्दै पछिल्लो निर्वाचनको हारको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने र पद त्याग गर्नुपर्ने प्रस्ताव गरिएको थियो। साथै असोज २०८३ भित्र विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव पनि मसौदामा समेटिएको थियो।
त्यसैगरी विधानबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको नेतृत्व सीमा पुनः कायम गर्नुपर्ने तथा वरिष्ठ नेताहरूलाई मार्गदर्शक भूमिकामा सीमित गर्नुपर्ने प्रस्ताव पोखरेलको मसौदामा थियो।
निर्वाचनमा पार्टीले बेहोरेको पराजयको प्रमुख कारण अध्यक्ष ओलीको अति–केन्द्रीकृत कार्यशैली र पार्टीभित्रका कमजोरी रहेको निष्कर्ष पनि मसौदामा समेटिएको थियो। तल्ला तहबाट प्राप्त सुझावका आधारमा यस्तो निष्कर्ष निकालिएको बताइएको छ।
पोखरेलको मसौदामा अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न उठाइएको विषयप्रति ओली असन्तुष्ट बनेपछि कार्यदल संयोजक बादललाई छुट्टै प्रतिवेदन तयार गर्न निर्देशन दिइएको स्रोतको दाबी छ।
ओली पक्षले ११औँ महाधिवेशनबाट प्राप्त जनादेशविपरीत आफूलाई विस्थापित गर्ने प्रयासका रूपमा पोखरेलको प्रस्तावलाई लिएको बताइएको छ। त्यसपछि बादलले पोखरेलको मसौदालाई आधार बनाएर त्यसका महत्वपूर्ण राजनीतिक प्रस्तावहरू हटाउँदै नयाँ प्रतिवेदन तयार गरेका हुन्।
बादलको ३९ पृष्ठको प्रतिवेदनमा ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि नेकपा (एमाले) को साझा सङ्कल्प’ शीर्षक राखिएको छ। प्रतिवेदनमा नेतृत्व परिवर्तनको बहसलाई असान्दर्भिक ठहर गर्दै त्यससम्बन्धी विषयलाई अघि नबढाउने निष्कर्ष निकालिएको छ।
बादलको प्रतिवेदनमा महासचिव पोखरेलले प्रस्ताव गरेका ओलीको राजीनामा, निर्वाचन पराजयको नैतिक जिम्मेवारी र नेतृत्व हस्तान्तरणका विषय समेटिएका छैनन्। ११औँ महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई हटाउने बहस आवश्यक नभएको निष्कर्षसहित नेतृत्व परिवर्तनको विषयलाई ‘क्लोज’ गरिएको उल्लेख छ।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टीको अभ्यासलाई समेत आधार बनाएर उमेर हद र नेतृत्वको कार्यकाल सीमा पुनः कायम गर्नुपर्ने प्रस्ताव पनि हटाइएको छ। असोज २०८३ मा विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने पोखरेलको प्रस्तावलाई पनि बादलको प्रतिवेदनले अस्वीकार गरेको छ।
निर्वाचन पराजयको कारणका रूपमा अध्यक्ष ओलीको कार्यशैलीलाई मात्र जिम्मेवार नठहराई मातहतका कमिटीबाट भएको गलत रिपोर्टिङ, भदौ २३–२४ को ‘कलर रिभोल्युसन’ तथा भूराजनीतिक षड्यन्त्रलाई समेत निर्वाचन परिणाम प्रभावित गर्ने कारकका रूपमा प्रस्तुत गरिएको छ।
बादलको प्रतिवेदनमा महासचिव पोखरेलमाथि पनि राजनीतिक प्रश्न उठाइएको छ। अध्यक्ष ओली हिरासतमा रहेका बेला चैत २० गते नयाँ प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएको तर ओलीको रिहाइका लागि अपिल नगरेको आरोप पोखरेलमाथि लगाइएको छ।
यसरी महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठको मसौदा र संयोजक बादलले तयार गरेको ३९ पृष्ठको प्रतिवेदनबीच नेतृत्व, निर्वाचन पराजयको जिम्मेवारी र पार्टी पुनर्गठनको दिशामै आधारभूत अन्तर देखिएको छ।
शुक्रबार बस्ने कार्यदलको बैठकमा यी दुई धारणा कसरी प्रस्तुत हुन्छन् भन्ने विषयले एमालेभित्रको शक्ति–सन्तुलन र आगामी राजनीतिक दिशाबारे थप बहस सिर्जना गर्ने देखिएको छ। नेताहरूका अनुसार महासचिव पोखरेलले आफ्नो मूल मसौदा कार्यदलमा पेस गर्ने तयारी गरेका छन्। यसले कार्यदलभित्रै देखिएको मतभिन्नता औपचारिक बहसमा प्रवेश गर्ने सम्भावना बढाएको छ।
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २५
ताजा नेपाल