Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बादललाई फकाउन गृहमाथि उप झुण्ड्याउने ओलीको प्रस्ताव

काठमाडौं । कानुनी रुपमा विभाजन नभए पनि व्यवहारिक रुपमा फुटिसकेको नेकपा भित्र अहिले नेताहरुलाई तातातान गर्ने अवस्था शुरु भएको छ । कित्ता क्लियर गरिसकेकाको भन्दा कित्ता नछुट्टिएका नेताहरुलाई दुवै तर्फबाट तान्ने प्रयास जारी रहेको छ ।

राजनीतिक रूपले विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै एक घन्टा छलफल गरेका छन्। छलफलमा क्रममा बादललाई गृहमाथि उपप्रधानमन्त्री थप्ने आश्वासन ओलीले दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान प्रधानमन्त्री ओली र बादलबीच कुराकानी भएको हो। पूर्वमाओवादी समूहका बादलले विभाजनपछि आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए। बादल मंगलबार भएको प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा सहभागी भएनन्। बबरमहलमा उक्त समूहको बैठक चलिरहेका बेला बादल उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्न उनको निवास भैंसेपाटी गएका थिए। वामदेवले पनि अब कुन समूहमा जाने भन्ने खुलाएका छैनन्।