Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनको भारत भ्रमणमाथि ओलीका चार प्रश्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रमणको औचित्य र उपलब्धिमाथि प्रश्न उठाएका छन् । बिहीबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणबारे चारवटा विषयमा आलोचनात्मक टिप्पणी गरेका हुन् ।

ओलीले सबैभन्दा पहिले प्रधानमन्त्री बालेनले नेपाली सेनाको गार्ड अफ अनर नलिएको तर भारतीय सेनाको सम्मान स्वीकार गरेको विषय उठाए । उनले यसलाई विरोधाभासपूर्ण भन्दै यस्तो व्यवहारप्रति पनि प्रशंसा भइरहेको टिप्पणी गरे ।

त्यसैगरी, भारत भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने महत्त्वपूर्ण द्विपक्षीय विषयहरूमा प्रधानमन्त्रीले कुरा राख्न नसकेको ओलीको आरोप छ । विशेषगरी प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारत सीमा समस्याबारे भ्रमणमा कुनै छलफल नभएको उनले बताए ।

‘बालेनको भारत भ्रमणमा उठ्नुपर्ने कुनै पनि कुरा उठेनन् । ईपीजी, सीमा केही उठेनन्,’ ओलीले भने ।

ओलीले प्रधानमन्त्रीको पुरानो अडानसँग जोडेर ग्रेटर नेपालको नक्साको विषय पनि उठाए । काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको स्मरण गराउँदै ओलीले भारत भ्रमणका क्रममा यो विषय उठाउनुपर्ने बताएका हुन् ।

‘ग्रेटर नेपालको नक्सा महानगरपालिकामा राख्नेले आमनेसामने हुँदा उठाउनुपर्ने होइन ?’ ओलीले प्रश्न गरे ।

ओलीको चौथो टिप्पणी प्रधानमन्त्रीको भारत भ्रमणको प्रकृतिमाथि केन्द्रित थियो । उनले भ्रमणलाई राजकीयभन्दा निजी प्रकृतिको जस्तो देखिएको टिप्पणी गरे । भ्रमणमा राष्ट्रिय एजेन्डा र देशका महत्त्वपूर्ण सरोकारले प्राथमिकता नपाएको उनको जिकिर थियो ।

‘बालेनको भ्रमण निजी जस्तो थियो, देश र एजेन्डा थिएन । राजकीय भन्न मिल्ने थिएन,’ ओलीले भने ।

यसरी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणलाई कूटनीतिक उपलब्धि, राष्ट्रिय मुद्दाको उठान र भ्रमणको औपचारिकताका आधारमा प्रश्न उठाएका छन् ।