Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाल अस्पताल निर्माण गर्न काठमाडौं महानगरद्वारा ४ करोड सहयोग

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ। बुढानीलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने सम्झौता–पत्रमा आज हस्ताक्षर गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सो सम्झौता–पत्रमा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए।
‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘नीजि क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।’ प्रमुख शाक्यले महानगरले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए। ‘विशेषज्ञहरुको समूले बालबालिकाको उपचारलाई केन्द्रित गरेर अस्पताल निर्माणको अभियान अघि बढाउनुभएको छ,’ शाक्यले भने, ‘सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला हामी सहयोगको हात अझै अघि बढाउन तयार छौँ।’