Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्व लिन पार्टी संस्थापनको आशिर्वादका लागि नेताहरुको दौडधुप चर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि थप नगरे आगामी मंसिरमा १५औँ महाधिवेशन गर्नुपर्छ । नियमित अवधिमै महाधिवेशन गर्न उनी तयार भए अबको १० औँ महिनाको अन्त्यतिर कांग्रेसले नयाँ नेतृत्व पाउने छ । तथापि, ७५ वर्ष लामो राजनीतिक विरासत बोकेको कांग्रेसले निर्धारित समयमै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व आएको घटना भने विरलै छ । पञ्चायती शासन ढालेर मुलुकमा प्रजातन्त्र पुनर्बहाली गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसले त्यसयता निर्धारित समयमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको देखिँदैन । पार्टीको १४ औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाको चार वर्षे कार्यकाल पूरा हुन १० महिना बाँकी हुनुअगावै कांग्रेसमा भावी नेतृत्वमा दाबी र खोजी गर्ने सिलसिला सुरूवात भइसकेको छ । २०७८ मंसिर २४ गते कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा १४ औँ महाधिवेशन उद्घाटन गरेको थियो । त्यस महाधिवेनका दुवै गुटलाई पछिल्लो समय आगामी महाधिवेशनको सिरेटोले छोइसकेको छ । संस्थापन इतर समूहबाट यसअघिका सभापतिका उम्मेदवार डा। शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले आन्तरिक तयारी थालिसकेका छन् । आशन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेबारे नेता कोइरालाले सार्वजनिक रूपमै अभिव्यक्ति दिइसकेका छन् । महामन्त्री थापाले भने औपचारिक रूपमा घोषणा गरिसकेका छैनन् । तर, थापा सभापतिको दौडमा लागिसकेका उनका गतिविधि र उनीनिकट नेता–कार्यकर्ताका अभिव्यिक्तिले पुष्टि गर्छन् । इतर समूहका नेताद्वय कोइराला र थापाले १५ औँ महाधिवेशनमा सभापतिका लागि तयारी बढाएसँगै संस्थापन समूहमा पनि भावी सभापतिको खोजी भइरहेको छ । १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका, तत्कालीन समयका आकांक्षी नेताहरूदेखि त्यसअघिबाटै देउवासँग रहेर राजीनीति गर्दै आएकाहरूले प्रणय दिवसको छेको पारेर भावी सभापतिको खोजी थालेका हुन् । जसको नेतृत्व गरेका थिए, पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले । उनी फागुन २ गते बिहान १४ औँमा सभापतिको उम्मेदवारी दिएका पूर्वउपसभापति विलेन्द्र निधि, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपसभापति पूर्णबहादुर खड्का, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र एनपी साउदका साथ बूढानीलकण्ठ पुगेका थिए । भेटवार्तामा सिटौलाले नै बूढानीलकण्ठ आउनुको कारणबारे देउवालाई ‘ब्रिफिङ’ गरेका थिए । छलफलमा सहभागी नेताहरूका अनुसार उनले देउवालाई गत महाधिवेशनमा साथ दिएका आफूहरू सबै सँगै रहेको बताउँदै आगामी महाधिवेशनसम्म पनि एकढिक्का हुने उल्लेख गरेका थिए । सिटौलाले सभापति देउवासमक्ष इतर समूहबाट सभापतिका आकांक्षीको चर्चा सुरू भइसकेपछि संस्थापन समूहका सम्भावित उम्मेदवारको टुंगो लगाउनुपर्ने आग्रहसमेत गरेका थिए । जवाफमा देउवाले १५ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने र समूहमध्येबाटै एक जनालाई अगाडि सार्ने प्रतिक्रया दिएका थिए । देउवाले बूढानीलकण्ठ पुगेका एघारै नेताहरूलाई समूहमै बस्न, हतार गरेर समूह नफेर्न पनि आग्रह गरेका थिए ।
पूर्वप्रधानमन्त्री देउवालाई विधानको व्यवस्थाले तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेवार बन्न दिँदैन । उनको समूहबाट नेता सिटौलासँगै उपभापति खड्का, पूर्व उपसभापतिहरू निधि, श्रेष्ठ, पूर्वमहामन्त्री कोइरालाले १५ औँ महाधिवेशनमा सभापतिमा आकांक्षा राखेका छन् । अघिल्लो महाधिवेशनमा उम्मेदवारी दिइसकेका निधि, सिंह र आकांक्षी कोइरालाले यसअघि नै दुई चरणमा आगामी महाधिवेशनबारे आन्तरिक छलफल गरिसकेका छन् । उनीहरूले असोजमा महाराजगञ्जस्थित कोइराला निवास र पुसमा सिंह निवास चाक्सीबारीमा छलफल गरेका थिए । संस्थापन पक्षीय केही नेताहरूका अनुसार प्रवक्ता महतले पनि सभापतिमा आकांक्षा राखेका छन् । तर, उनले मुख भने खोलिसकेका छैनन् ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ६
ताजा नेपाल