Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेहुला पार्टीमा व्यस्त, अर्कैसँग भयो बेहुलीको बिहे

एजेन्सी । विवाहको विषयमा बेलाबेलामा हरेक किसिमका समाचारहरु आउँछन्। यस्तै समाचार भारतको राजस्थानमा घटेको छ। राजस्थानका चुरु जिल्लामा एक बेहुलाको लागि आफ्ना साथीहरुसँग रमाइलो गर्नु निकै महँगो परेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुनिल नाम गरेका बेहुला विवाहको दिन अबेर रातसम्म साथीहरुसँग मदिरा सेवनमा व्यस्त थिए।
जसको कारण उनीहरु समयमा नै बेहुलीको घरमा पुग्न सकेनन्। समाचारमा बताइएअनुसार बेहुला रातको ९ बजे बेहुलीको घरतर्फ प्रस्थान गरेका थिए। तर, उनीहरुलाई त्यहाँ पुग्न रातको २ बज्यो। यसरी ढिला पुग्नुको कारण बेहुला आफ्ना साथीहरुसँग मदिरा पिएर बस्नु थियो।
विवाहको लागि शुभसाइत रातको सवा १ बजेको दिइएको थियो। त्यसैले बेहुली पक्षले समयमा नै बेहुला नआएपछि अर्कै केटा खोजेर विवाह गरिदिएका थिए। रातको २ बजे नाच्दै गाउँदै जन्तीसहित बेहुला पुग्दा बेहुलीको अर्कैसँग विवाह भइसकेको थियो।

ढिला गरेर बेहुलीको घर पुगेका जन्तीले त्यहाँ हुलदंगा गरेका थिए। त्यसपछि जन्ती पक्षले प्रहरीमा मुद्दा दायर गर्न गएका थिए। प्रहरीमा बेहुली पक्षले विवाहको दिन नै यस्तो व्यवहार देखाउने बेहुलालाई आफ्नो चेली दिन नसकिने निष्कर्षका साथ अर्कैसँग विवाह गरिदिएको जवाफ दिएका थिए। यद्यपि प्रहरीले दुवै पक्षलाई सम्झाएर फिर्ता पठाएको थियो।