Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदनको हत्यासँगै एमालेको राष्ट्रवाद नारायणीमा सलल

एकता हुँदा हौसिने विभाजन हुँदा डुक्रिने चलन नेपालका कम्युनिष्टहरूको चरित्र हो । हिजो पनि त्यही थियो, आज २१औं शताब्दीको लुटाहा जनवादमा उस्तै छ । नेकपाको एकता हुँदा नीति, सिद्धान्त, विधि, पद्दतितर्फ कहिल्यै ध्यान दिइएको छैन । चाहे मसाल टुक्रँदा होस् वा एकता केन्द्रको विभाजन र तत्कालिन एमाले मालेको फुट किन नहोस् । नेताको भाषा उनका अगुवा र पछुवाको बचन होस् । आरोप प्रत्यारोप गर्ने चलन काँग्रेसमा भन्दा कम्युनिष्टमा बढी छ ।
तत्कालिन एमालेसँग सिद्धान्त, नीति भनेकै जनताको बहुदलीय जनवाद भित्र बसेर देशका साना टुक्रामाथि प्रहार गर्ने र सत्तामा रहँदा अरु पार्टीमाथि प्रहार गरी विभाजन ल्याउने थियो । आफ्नै टिम संसदमा दुई तिहाई हुँदाहँुदै राजपाका सांसद अपहरण गर्न पूर्व आईजीपी र तत्कालिन सांसदहरू कसरी प्रयोग भए त्यो दुनियाँले थाहा पाए । ओलीको बोली छलछाम र झूठमा आधारित छ त्यो माओवादीका सबै नेतालाई थाहा थियो । तर पनि जनताले कम्युनिष्टहरूको विभाजन होइन एकताको जोड दिए । जनताको चाहना पूरा भयो सत्ता सर्लक्कै नेकपामा आयो तैपनि एकताको व्यवहार नेतृत्वले देखाएन ।
पार्टीलाई प्रम ओलीले गणनामै राखेनन्, अध्यक्ष उनै थिए । अर्का अध्यक्ष उनको पिएसओ सरह बनाइए । समकक्षी नेताहरू माधव र झलनाथको गणना भएन । वामदेव त ओलीबाट चुनावमै पराजित भएका नेता थिए । त्यो यथार्थ बिर्सेर उनी ओलीकै खुराफात र गुटको सेवा भएको प्रमाण अहिले देखिएको छ । यिनै वामदेवलाई राष्ट्रवादी शक्ति तत्कालिन मालेका नेताबाट पराजित गराउने नेपालको अब्बल भ्रष्टाचारीमा प्रचार गर्ने काम ओलीकै जालझेलबाट खुलामञ्च प्रयोग भयो । प्रदीप नेपाल पण्डित बने तत्कालिन एमालेको भारतीय शक्ति जुटेर लाग्यो । राष्ट्रवाद एमालेमा मदनको हत्यासँगै नारायणीले बगाएकै हो । तर पनि बेला बखत ढाँट छल भएकै छ ।
गलतलाई गलत भन्ने बौद्धिक वर्गको अभाव देशमा छ । राजनीतिमा दुष्टहरू हुन्छन् । त्यो दुष्ट प्रवृत्ति हिजो नेकपा, काँग्रेस, राप्रपा, मधेशवादी सबैमा थियो, आज पनि छ । नेकपा घोषणा हुँदैमा समानताका आधारमा पदको भागवण्डा भयो । गल्ती त्यही थियो । विश्वास नेताहरूमै थिएन । गुटका आधारमा मन्त्रीहरू छानिए । कार्यक्षमता, अनुभव, योग्यता, पार्टीको लगावजस्ता कुरामा नेताहरूले ध्यानै दिएनन् । आज पनि एकले अर्कोलाई छास्ने घेर्ने मनपरी बोल्ने काम नेताकै मुखबाट बढी भएको छ । विभाजनले खुशी ल्याउँदैन भन्ने कुरामा सबै सहमत हुन्छन् । तर गुटकै खेती छ जताततै । कम्युनिष्टले कम्युनिष्टलाई खेद्ने कामको रत्यौली केपी ओलीबाट शुरु भयो । यो दुष्ट पनमा सिद्धान्त नीति, विधि र प्रक्रियाका छनक कतै छैन । केबल प्रम ओलीलाई प्रभू ठानेर उनले जे बोल्छन् त्यो बेद वाक्य ठान्ने उनलाई उकास्ने उनी फुर्कने काम भयो ।
दलगत जात्रा सिंहदरबार र निर्वाचन आयोगमा देखियो । प्रम ओलीले अध्यक्षको नाताले झण्डै १ हजार मान्छेलाई महाधिवेशन आयोजित समितिको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । संसदलाई प्रधानमन्त्री र राष्ट्रपतिले मारेकै हुन् । संविधान मिच्ने काम ओली र विद्याको तर्फबाट भयो । कानुनलाई निमोठ्ने काम अब सर्वोच्च अदालतबाट चोलेन्द्र समशेरले गर्छन् पार्टी आधिकारीकताको काम निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले गर्दैछन् । यहाँ भ्रष्टाचारको छानविन गर्ने अख्तियारमा प्रेम राई ल्याइयो । उनी आफैं भ्रष्टाचारमा सहभागी थिए । राष्ट्रिय ध्वजाबाहक कम्पनी बायुसेवा निगम होस् वा नेपाल आयल निगमको जग्गा खरिद काण्डमा यी राईको नाम जोडिएकोले ठूला भ्रष्टाचार भएका संस्थानभित्रको अवस्था सुध्रने अवस्था छैन । नीतिगत लुट वर्तमान सरकारको गहना हो । गुटबन्दी त्यसको सदाचार यो अवस्थामा पार्टी फुट्नु नै थियो ।
समय बिग्रेको छैन । एकै ठाउँमा रहँदा यसरी पेट माझा माझ सुहाएन । फुटेपछि सबैले सबैको चरित्र उदांगो बनाए । अब सच्चिने ठाउँ थुप्रै छन् । एकता बिना चुनवामा १२० सिट आउँदैन १६५ मा १२० दुई तिहाई हो । सत्ताको धाँधली गुटबन्दीबाट सम्भव छैन । नयाँ काम नेकपाले गरेकै छैन । ०५१ सालको चुनावबाट अल्पमतको सरकारले जारी गरेका कार्यक्रमको समेत ख्याल गरिएन । काम गर्न कानुनको कुनै बुँदाले छेकेको थिएन । प्रधानमन्त्री केपीका कल्पना धेरै थिए । त्यही कारण पानी जहाज, पाइपलाइनको ग्यास, मेट्रो रेल, मोनोरेलका कथा आए । प्रमका हनुमान त्यस्तै थिए । देशको भूगोल हेरिएन लगानी बढाउनेतर्फ ध्यान गएन । कमिशन खाने बिचौलिया जगाउने काम धेरै भए कृषिको सुधार समेत तीन वर्षसम्म नेकपाले गरेन । कृषकको नेता वामदेव र चित्रनारायण श्रेष्ठ सरकारी सुविधाका गाडी चढेकै थिए । तर जो व्यवसायी कृषक हो उसले केही पाएन ।
अवसर बारम्बार आउँदैन । हिजो पाएको त्यो दुई तिहाई बचाएको भए दुई वर्ष समय थियो । काम गर्नेले एकै वर्षमा नीतिगत काम थाल्थ्यो भने त्यसले गति लिन सक्थ्यो । तर सरकार चलाउने प्रधानमन्त्री पार्टी चलाउने केपी ओलीले ध्यान दिएनन् । उनको संसार गुटमा चल्यो । पार्टी हरेक ठाउँमा बाइपास भयो । कम्युनिष्टहरूले जनतालाई राहत होइन आहात दिए, उत्पीडन थपे । शोषणको श्रृङ्खला बढीरह्यो । जहाँ सरकारी अस्पताल समेत विरामीको उपचारमा ध्यान दिन चाहँदैन त्यहाँ विद्रोह सम्भव छ । कम्युनिष्ट पार्टीले कम्युनिष्टमाथि गरेको व्यवहार नै निरंकुश छ भने कसरी उसका कुरा पत्याइन्छ र चुनावमा फेरि दुई तिहाई दिने हो । गुटको लुट, सत्ताको. दलाली, कमिशन, भ्रष्टाचार गरेर पुगेन अबको चुनावका एजेन्डा के हुन्छन् यस्तो विभाजन र विखण्डनकारीका जनताले सोच्छ ।