Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् पुनर्गठन को हटे, को थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । पुनर्गठन गरिएको मन्त्रिपरिषद्का सदस्यहरुको सूची राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
नयाँ मन्त्री बन्नेहरु
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् । भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राय यादव श्रम मन्त्री बनेका छन् । नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री भएका छन भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई बनाइएको छ ।
जो यथावत रहे
राष्ट्रपति कार्यालयका अनुसार उपप्रधान तथा रक्षामा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

को को मन्त्री हटाइए ?
राष्ट्रपति कार्यालयकाअनुसार भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाइएको छ । यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्य मन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।
दुई मन्त्रीको मन्त्रालय हेरफेर
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुनेछन् । नयाँ मन्त्रीहरुका लागि बिहीबार विहान सपथ ग्रहणको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले बताएको छ ।