Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाराजहरुको सवारी हुँदैछ सडकका खटारा सबै हटाउ

यहाँ महाराजहरुको भीड बढी छ । एउटा महाराजको बिदाइसँगै नेपालको गणतन्त्रले सयौं महाराजहरु जन्माएको छ । हिजो साइकल चड्ने नयाँ महाराजहरु अहिले १८–२० करोडको गाडीमा हुइकिन्छन् । तिनले बसपार्कका भोकाहरुको बुझ्दैनन् । नत आर्यघाट नजिकै लाइनमा बसेर पेट भरिहेको पेटको दर्द बुझ्छन् । यी महाराजहरु आकाशबाट बर्षेका हुन् किनकि यिनको धरातल भनेको आकाश हो त्यही कारण यिनले भाषण गर्दा आकास छुन्छन् धर्ती बिर्सन्छन् । नेपालको वर्तमान राजनीति र सिंहदरबारको सत्ताको यथार्थ चित्रण यही हो । तर विडम्बना भन्नै लाजमर्दो भो ।

सिंहदरबारभित्र आफूलाई सर्वहारा वर्गको प्रतिनिधि ठान्ने नेपाल कम्युनिष्ट पार्टीको सत्ता छ । त्यहाँ मात्र होइन सिंहदरबारबाट टुक्रिएर गाउँ गाउँमा पुगेका नयाँ सिंहदरबारहरु ७५४ छन् । तिनलाई नियन्त्रण गर्ने ७ प्रदेश छन् । जसले संघीय सरकारबाट कानुनी अधिकार नपाउँदा अहिले आफैं अन्योलमा परेको बताइरहेका छन् ।

विश्व महामारी कोरोना कहरका कारण अहिले लाखौं नेपाली रोजीरोटी गुमेर एक छाक भातका लागि अरुको शरणमा पर्नु पर्ने अवस्था आएको छ । तर यो पीडा सिंहदरबारका लाउकेहरुलाई थाहा छैन । उनीहरु आफ्नो आम्दानी र आफन्तको हितबाहेक मतदाताको पीडा सोच्दैनन् । कोरोना लागेको कुनै पनि नागरिकले यतिखेर निजी अस्पतालमा त परै जाओस् सरकारी अस्पतालको गेटमा पनि पुग्न सक्दैन । ऊसँग पैसा छैन । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विराटनगरका सामन्त हुन् उनले तिनै सामन्तहरुबाट स्थापित अस्पतालहरुले लुटिरहँदा तालि बजाउँछन् । काम गर्ने डाक्टरलाई तर्साउने प्रधानमन्त्री केपी ओलीको भजन गाउने काम यिनको हो ।

यही बेला उनले आफूले गरेको पौरख भन्दै पुस्तकका रुपमा प्रकाशन गरेका छन् त्यो पनि सरकारी खर्चमा । यहाँ गरिब निमुखाको उपचार गर्न मात्रै पैसा नभएको हो, केपी ओली, झलनाथ खनलाहरुका लागि राज्यकोषको ढोका खुला छ । उनीहरुका लागि हेलिकोप्टर र एयर एम्बुलेसन्स तयार छन् तिनीहरु ग्राण्डी, ह्याम्स, मेडीसीटी मात्रै नभएर देशबाहिर सिंगापुर र अमेरिकाका लागि पनि उड्न तयार छन् । तर नेपाली गरिबले आफूलाई कोरोना लाग्यो भने बाँच्ने इच्छा भए र अर्को पटक तिनै नेतालाई भोट हाल्ने रहर जागे घरखेत बेचेर भए पनि उपचार गर्नुपर्छ ।

अहिले केही मनकारी मनहरुले भोका पेटलाई राहत दिन राजधानीको खुल्ला ठाउँको रुपमा रहेको खुल्लामञ्चको एउटा छेउमा खाना खुवाइरहेका छन् । तिनको टोलीलाई सामुदायिक संस्थाहरुसँगै नेपाल प्रहरीका उपत्यका ब्यूरो इञ्चार्ज विश्व पोखरेलले समेत चामल, दाल र केही नगद सहयोग गरेका छन् । त्यहाँ सरकार उपस्थित हुनुपथ्र्यो । काठमाडौं महानगरपालिका राजधानीभित्रका नागरिकको अभिभावक हो । तर त्यहीका मेयर विद्यासुन्दर शाक्य आफूलाई कोरोना संक्रमण हुँदा राज्यकोषको दोहन गर्दै सोल्टी होटलमा दैनिक ९५ हजार बुझाएर बसे । त्यतिबेला राज्याको इज्जत गएन । तर अहिले तिनै शाक्य उठेपछि भोका नांगाहरुले खुलामञ्चमा भात खाँदा इज्जत गएको देखे त्यहाँ उनका भीआईपीहरु आवतजावत गर्ने हुँदा देशको इज्जत रहेन ।

यो सबै प्रकरण वर्तमान सरकारले भारतीय सेनापतिको नेपाल भ्रमणको समयमा बचाउन खोजेको इज्जत हो । ढाँटेको कुरा र फाँटेको लुगा लुकाएर लुक्दैन महाशय । जनता र राष्ट्र प्रमुख मुद्दा हो भने राज्यको तर्फबाट जनताको हितका निम्ति केही गरेर देखाउनु पर्दछ । तिमीहरुले देखायौ के ? आफ्नै सत्ता र पदका निम्ति बाहेक । हो अर्बपति मेयर ज्यू अब सुन्दर नगरी काठमाडौंबाट नाम्लो बोकेर ज्यान पाल्ने भरिया पनि हटाउनुपर्छ, ठेलाभरि सामान राखेर गन्हाउने पसिना चुहाउँदै ठेल्नेहरुलाई डाँडो कटाउनुपर्छ, करोडौंका गाडी चल्ने सकडकमा ट्यार ट्यार गर्दै कुद्ने मोटरसाइल, साइकल र ट्याम्पो मात्रै होइन गुन्द्रुक खाँदेझैं मान्छे हालेर हिँड्ने बस पनि हटाउनुपर्छ अनि पो शहरमा नयाँ भीभीआईपीलाई साइरन बजाएर कुद्न सजिलो हुन्छ ।

तिम्रा नगर रक्षकहरुले साँझ बिहान सडकमा दुई चारवटा सामान फिँजाएर बेच्नेहरुमाथि लुट्न पाउनुपर्छ किनकि राजधानी भनेको हुने खाने र ठूला बडा बस्ने ठाउँ हो । तिम्रा प्रहरीहरुले घिच्याउँदै लगेको सामान नगरपालिका छिरेपछि कति फिर्ता हुन्छ त्यो कहिल्यै हेरेकाछौं ? गरिबका गाँस लुटिँदा इज्जत गएन मेयरज्यू ?


सम्बन्धित समाचार