Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीलाई फेरि उपराष्ट्रपति र सभामुख, नत्र गठबन्धन भंग

काठमाडौं । सत्तामा को जाने, कसले कुन पद लिने रस्साकस्सी चर्किएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद छोड्दै नछोड्ने र यसपटक पूर्वसहमती अनुसार पनि गठबन्धनले आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने दावी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डसँग आक्रोशित भएका छन्। कांग्रेसभित्रकै एउटा समूहले देउवाले प्रधानमन्त्री पद प्रचण्डलाई सुम्पन लागेको हल्ला चलाएर देउवाको तेजोबध गरिरहेकोले देउवा भने माओवादी र एमाले बाहेकको सरकार बनाउने कसरतमा लागेका छन्। देउवा निकट स्रोतका अनुसार, प्रचण्डले पद रोज्ने सुविधा पाउने छैनन्। रातारात कुनै अप्रियरुपले घटनाक्रमको विकास भएन भने आइतवार प्रधानमन्त्री पदमा देउवाकै नाम जाने छ भने प्रचण्डलाई उपराष्ट्रपति पद र सभामुख पदमा चित्त बुझाउन जानकारी पठाइने भएको छ। स्रोतका अनुसार, रातभर उत्तर र दक्षिणका छिमेकी देशका प्रतिनिधिहरुको दौडधूप जारी छ। यसले अन्तिम अवस्थामा खेल परिवर्तन नगरे माओवादीलाई ‘खाऊँ भने दिनभरिको शिकार नखाऊँ भने कान्छा बाबुको अनुहार’ बनाइने छ। देउवाले भाग लगाइदिएको खाएर गठबन्धनमा बसे ठिकै छ नत्र गठबन्धनबाट माओवादी बाहिरिने परिस्थिति बनेको सो स्रोतले दावी गरेको छ।
यो खेलमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख खेलाडीका रुपमा देखा परेका छन्। उनले माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री बन्ने परिस्थिति समाप्त भएको घोषणा शनिबार गरिदिए र देउवालाई समर्थन गर्ने आश्वासन पठाएका छन्। कांग्रेस, राष्टिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपालगायतका अन्य साना दलहरु मिलाएर देउवाले बहुमत पुर्‍याउन गरेको कसरत सफल भए प्रचण्ड गठबन्धनबाट निकालिने छन्। देउवाले विश्वासको मत लिने बेला नपुग भएमा ओलीले साथ दिने आवश्वासन दिएका छन्। र, सम्पर्क सूत्रमार्फत यो कुरामा विश्वस्त हुन पनि ओलीले देउवालाई सन्देश पठाएका छन्।
देउवा बांगिएको बुझेका प्रचण्डले ओलीसँग शनिबार साँझ फाइनल कुराकानी गर्न भनेर बालकोट पठाएका दूतलाई भेट नै नदिई ओलीले फिर्ता पठाएको बुझिएको छ। प्रचण्डले दिएको खान नमाने मागेको नदिने भन्दै देउवाले आइतबार बिहान आफ्ना निकट सहयोगी ज्ञानेन्द्र कार्कीलाई प्रचण्ड निवासमा पठाउने तयारी गरेको स्रोतको दावी छ। यसअघि देउवाले पठाएका प्रकाशमान सिंहलाई प्रचण्डले यसपटक आफ्नो पालो हो कुनै हालतमा आफू नै प्रधानमन्त्री बनाइनुपर्ने, देउवालाई यो अवस्थामा पुर्‍याउने नै आफू भएकाले त्यसको फल अहिले आफूले पाउनुपर्ने र यसमा कुनै सम्झौता नहुने सन्देश दिएर फिर्ता पठाएका थिए। शनिबार दिउँसोको गठबन्धनको बैठकमा पनि प्रचण्डले आफ्नै दावी पेश गरेकाले देउवाले कुनै कुरा अघि नबढाएको बताइएको छ। बरु देउवाले माधव नेपाललाई प्रचण्डलाई वाहिर राखेर सरकार बनाउन सकिने नसकिनेबारे सोधेका थिए र नेपालले गठबन्धनमा नै आफू रहने जानकारी गराएका थिए। उनले दुबै नेतालाई मिल्न दवाव भने दिएका थिए। जनताले बढी सिट दिएकाले अहिलेको सरकारको नेचुरल लिडर देउवा नै भएको माधव नेपालको धारणा रहेको बालुवाटार स्रोतले जनायो।