Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माफियाले फनफनी घुमाउँदा चारपटकसम्म भएको थियो कीर्ते

सीआईबीले ललिता निवासको सरकारी जग्गा हडप्न २०४९, ०६२, ०६७ र ०६९ सालमा गरी चारपटक सरकारी लिखत कीर्ते भएको निष्कर्ष निकालेर बिहीबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

२०१९ सालमा सरकारले बालुवाटारको केही जग्गा अधिग्रहण गरेको थियो । ‘त्यतिबेला कतिपय देश बाहिर गएर तत्कालीन सत्तालाई अन्तर्राष्ट्रिय मिडियामार्फत दबाब दिने काम पनि गरेका रहेछन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसबेला सरकारले ६७ जनालाई नै देश फर्किन आह्वान गरेको रहेछउनिहरु नआए अधिग्रहण वा जफत गरिनेछ भनिएको रहेछ ।’

नातेदारहरुले ११४ रोपनीको मुआब्जा लिएको रेकर्ड त्यसबेलाको अञ्चलाधीश कार्यालयमा छ । त्यतिबेला १२ रोपनी जग्गा मात्रै जफत भएको थियो । पछि २०४९ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले पहिले जफत गरिएको जग्गालाई मुआब्जा दिने निर्णय गर्‍यो ।

‘यही निर्णयमा टेकेर कीर्ते गर्ने कामको सुरुवात भएको थियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘मन्त्रिपरिषद्को यो निर्णयमा टेकेर भू–माफियाहरुले १२ रोपनी होइन, १३६ रोपनी नै जफत गरेको भनेर कागजात बनाउन थालेका हुन ।’

ती अधिकृतका अनुसार मन्त्रिपरिषद्को निर्णयको गलत व्याख्या गरेर २०४९ सालमा डिल्लीबजार मालपोत कार्यालयले भोगाधिकारीहरुलाई जग्गा दिने गरी कागज तयार गरेको थियो ।

त्यसपछि सुनिती राणा, शैलजा राणा, रुक्मशमशेर राणा लगायतको नाममा जग्गा नामसारी भएको पाइएको उनले बताए ।

सीआईबी स्रोतका अनुसार यस प्रकरणमा २०६२ सालमा दोस्रो पटक कीर्ते कागजात तयार भएको रहेछ ।

‘पहिले छुटेको घर भएको १२ रोपनी घर जग्गा मालपोत कार्यालय डिल्लीबजारले सुनिती राणाको नाममा दर्ता गरिदिएको थियो’ स्रोतले भन्यो, ‘त्यतिबेला उनले यो जग्गा मेरै हो भनेर निवेदन दिएकी थिइन्, त्यसमा टीकाराम घिमिरे, सकवीर अन्सारी, भूपेन्द्रमणि केसी लगायतको कमिटीले हाल साबिक गरेर कीर्ते गरेका थिए ।’

राणा परिवारको नाममा जग्गा गएपछि विभिन्न व्यक्तिका नाममा फेरि बिक्री भएको देखिने अनुसन्धान अधिकृतहरु बताउँछन् । २०६७ सालमा भू–माफियाले कीर्ते कागजात तयार गरेर समरजंग कम्पनीको नाममा रहेको ३३ रोपनी जग्गा टिकिन्छा गुठीमा ल्याएर फर्जी मोही बनाएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

त्यही बेला बालुवाटारमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको निवास विस्तारका लागि भूमिसुधार मन्त्रालयबाट गुरुयोजना बनाउने निर्णय भयो । ‘गुरुयोजनाको फाइलबाट पनि बालुवाटारको जग्गामा विभिन्न व्यक्तिलाई मोही कायम गर्ने निर्णय भयो’ स्रोत भन्छ, ‘नक्कली गुठीयार खडा गरेर झण्डै २६ रोपनी जग्गा कीर्तेको माध्यमबाट श्रीकृष्ण महर्जनसहित विभिन्न व्यक्तिको नाममा गएको छ ।’

उनका अनुसार सुरुमा महर्जनलगायतको नाममा गएको जग्गापछि शोभाकान्त ढकालसहितका व्यक्तिहरुको नाममा गएको छ ।

२०६९ सालमा पनि बाँकी रहेको केही जग्गा टिकिन्छा गुठीको नाममा लगेर विभिन्न व्यक्तिको नाममा ल्याएका सीआईबीको निष्कर्ष छ ।