Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हमास र इजरायल युद्धविराम नजिक

गाजापट्टी । हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मंगलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकु समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।

हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने ।

वार्ताकारले प्यालेस्टाइनी लडाकुले बन्धक बनाएका करिब २४० जनामध्ये केहीलाई मुक्त गर्न एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् । गएको महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन् । केही बालबालिका र वृद्धवृद्धा पनि छन् ।

बन्धक बनाइएका मध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजरायली स्थल सैनिकले मुक्त गराएका छन् । केहीको शव बरामद गरिएको छ ।

बाँकीको सटीक ठेगाना थाहा छैन । यद्यपि, हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही थालेको गाजामा बन्धक रहेको मानिएको छ ।

हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार २०० मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् र उनीहरूमा हजारौँ बालबालिका रहेका छन् ।

नाम नछाप्ने सर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको सर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टाइनी लडाकु समूह हो, जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो ।

अस्थायी सम्झौतामा पाँचदिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाई सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालेस्टाइनी लडाकु समूहले पक्रिएका ५० देखि १०० मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजरायली र अरू मुलुकका मानिसलाई रिहा गरिनेछ । कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन ।

प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब ३०० प्यालेस्टाइनीलाई पनि इजरायली जेलहरूबाट रिहा गरिनेछ ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकलाई रिहा गर्ने सम्झौतानजिक पुगेको आफूलाई लागेको बताएका थिए । उनका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ । कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ । इजरायलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ ।

यस्तै, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजरायल र गाजामा सशस्त्र संघर्षसँग सम्बन्धित मानवीय मुद्दालाई अगाडि बढाउन हमासका नेता हानियेहलाई भेट्न कतारको भ्रमण गरेको जनाएको छ । राससरएएफपी


सम्बन्धित समाचार