Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माहोल तातेकै बेला संसदीय दलको नेता छान्ने देउवाको योजना

काठमाडौं । मैदानमा काँग्रेस संसदीय दलको नेता बन्ने अनुहार थपिँदा सभापति शेरबहादुर देउवालाई अझ सहज महसुस भएको छ । त्यसै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचन तत्कालै गर्ने तयारी थालेका छन्। संस्थापन इतरबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाहरुले दलको नेताका लागि दबाब बढाउन थालेपछि देउवाले यस्तो तयारी थालेका हुन्। कांग्रेसले संसदीय दलको निर्वाचन तयारीका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार बस्दै छ। उक्त बैठकले दलको निर्वाचनका लागि निर्वाचनमण्डल बनाउन सक्नेछ। उक्त निर्वाचनमण्डल बनाएपछि सभापति देउवा सोमबार या मंगलबार नै संसदीय दलको चुनाव गर्ने तयारीमा जुटेका हुन्। आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ। प्रधानमन्त्री समेत रहेका देउवाले शनिबार नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई दिइसकेका छन्। त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेताबारे अझै सहमति भएको छैन।
संस्थापनबाट देउवा फेरि प्रधानमन्त्रीको दौडमा छन्। त्यस्तै इतरबाट कोइराला र थापाले पनि संसदीय दलको नेताका रुपमा आफूलाई अघि सारेका छन्।
कांग्रेसका महामन्त्री थापा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर काठमाडौं ४ बाट चुनाव जितिसकेका छन्। उता मोरङ ६ बाट विजयी शेखरले पनि संसदीय दलमा जाने योजना बनाएका छन्। तर एकै गुटका यी दुईजनाबीच सहमति जुट्न नदिने रणनीतिसहित देउवाले तत्कालै दलको निर्वाचन गराउन चाहेका छन्। यी नेताबीच कुरा नमिलेमा आफू पनि दलको नेतामा उठ्न सक्ने भनाइ उपसभापति धनराज गुरुङले सार्वजनिक गरेका छन्। निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइसकेको छ। आयोगले निर्वाचनको अन्तिम परिणामबारे उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि औपचारिक रुपमै जानकारी गराइसकेको छ। संविधानले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था गरेको छ। त्यही व्यवस्था बमोजिम अब राष्ट्रपतिबाट केही दिनमा दलहरुलाई सरकार गठनका लागि आह्वान हुने छ। यस्तोमा दलहरु नेता चयनमा जुट्न थालेका छन्। दलको नेताका लागि एमालेबाट केपी शर्मा ओली, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन, जनता समाजवादीमा अशोक राई र एकीकृत समाजवादीमा माधवकुमार नेपाल निश्चित जस्तै छन्।
तर सबैभन्दा चुनौती कांग्रेस सभापति देउवालाई छ। उनी यस पटक पनि दलको नेता भएर छैटौँ पटक प्रधानमन्त्री हुने दाउमा छन्। संस्थापन इतरमा विभाजन देखिएकाले दलको नेतामा देउवा सजिलै विजयी हुने सम्भावना छ। राष्ट्रपति भण्डारीबाट नयाँ सरकार गठनका लागि आह्वान हुने दिन नजिकिँदै जाँदा कांग्रेसको संस्थापन इतर समूहले दलको नेताका लागि उम्मेदवार टुंग्याउन सकेको छैन। यही अवसरलाई उपयोग गर्दै देउवा तत्कालै दलको नेताको चुनाव गराउने तयारीमा लागेका हु्न्।