Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । परम्परागत खेतीपाती र वस्तुभाउका कारण नेपालका किसान उभो लाग्न नसकेका हुन् । वर्षभरि मेहनत गर्दा पनि हातमुख जोड्नै धौ धौ पर्ने परम्परागत प्रणालीमा सुधार आवश्यक छ । त्यही परम्परा तोड्न प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा निःशुल्क उपहारका रूपमा ल्याउने भनिएका मुर्रा जातका १५ वटा राँगा नेपाल आइपुग्न अझै डेढ महिना लाग्ने भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगोबाट ३ वर्षपछि वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने जनाएको छ । यसले कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार हुने मन्त्रालयको दाबी छ । यसले नश्ल सुधारपछि दूधमा देखिएको समस्या समाधान हुने जानकार बताउँछन् । दुई मुलुकबीचको सहकार्यअनुसार १५ वटा मुर्रा राँगो उपलब्ध गराइने भारतीय दूतावासले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कृषि मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै मुर्रा राँगो आयातका लागि विगतदेखि नै प्रयास भइरहेको प्रस्ट्याएको छ । ‘यो उन्नत प्रजाति मुख्यतः भारतको पञ्जाब र हरियाणामा विकास भएको हो । नश्ल सुधारका लागि यो विश्वकै उन्नत जातमा पर्छ, पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, लामो समयको प्रयासबाट भारतले मुर्रा राँगो उपलब्ध गराउने भएको छ । यसले दुग्ध क्षेत्रमा फड्को मार्ने अपेक्षा गरेका छौं । दुग्ध क्षेत्रको विकास गर्न मुर्रा आयातको पहल भएको विभागले प्रस्ट्याएको छ । खरिददेखि जीटूजीको पनि प्रयास भएको थियो । तर विफल भयो । लामो प्रयासपछि भारतले वस्तुगत सहायतास्वरूप १५ वटा मुर्रा राँगो निःशुल्क दिन लागेको हो । भारतको नीतिले मुर्रा राँगो बिक्रीवितरण निषेध गरिएको रहेछ । अन्तर्राष्ट्रिय बिडिङ गर्दा पनि खरिद गर्न सफल भएका थिएनौं, ढकालले भने, १५ वटा मुर्रा राँगो उपलब्ध गराउने निर्णयले सजिलो भयो । भारतबाट आयात हुने मुर्रा राँगो र कृत्रिम गर्भधारणले दूध उत्पादन बढाउने मन्त्रालयले जनाएको छ । राँगोको प्राविधिक पक्ष निरीक्षणका लागि सक्दो छिटो विज्ञ एवं प्राविधिक भारतका सरकारी फार्ममा जाने तयारी भइरहेको छ । प्राविधिक पक्षको टुंगो लागेपछि भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध हुने बताइएको छ । लोकल जातका भैंसीबाट पर्याप्त दूध नभएकै कारण नश्ल सुधारका लागि मुर्रा राँगो ल्याउन पहल भएको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका सूचना अधिकारी धर्मराज गिरीले बताए का छन् । सरकारले गत वर्ष अमेरिकाबाट ६ वटा साँढे ल्याएको थियो । गत पुसमा दक्षिण कोरियाले नेपाल सरकारलाई साँढे ५६ करोड बराबरको सय बाछी र २० वटा साँढे उपहार दिएको थियो । यसमा हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल कोरियाले सहयोग गरेका थिए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल