Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी मनाउँदै नेकपा विप्लवले वार्षिकोत्सव, विप्लवका गतिविधिले सरकार सशंकित

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीले यही मङ्सिर ६, ७ र ८ गते सातौँ पार्टी पुनर्गठन दिवस देशव्यापी रुपमा भव्य ढङ्गले मनाउने निर्णय गरेको छ । उक्त पार्टीले दिएको जानकारीअनुसार मङ्सिर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएको हो । विप्लव नेकपा वर्तमान सत्ताधारी प्रचण्ड र त्यसपछि मोहन वैद्यसँग पार्टी विभाजन गरी ६ वर्षअघि पुनर्गठन भएको हो ।

२०७२ साल मङ्सिर ८ गते मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी (ड्यास माओवादी) बाट विद्रोह गरेको दिनलाई विप्लव नेतृत्वको पार्टीले हरेक वर्ष पार्टी पुनर्गगठन दिवसका रुपमा मनाउँदै आएको छ । दुई वर्षअघि फागुनमा सरकारले प्रतिबन्ध लगाएपछि भने उक्त पार्टीले यो दिनलाई ‘क्रान्तिको मैदान’ मै पुनर्गठन दिवसका रुपमा मनाउँदै आएको छ । सरकारले प्रतिबन्ध लगाएपछि आफ्नो पार्टीको आन्तरिक हैसियत मूल्यांकनका लागि पनि यो समूह देशैभरि छरिएको हो । सत्तापक्ष नेकपामा पद र स्वार्थको लडाइँ चर्किरहँदा जनयुद्धको आवश्यकता पूरा गर्दै आमूल परिवर्तनको पक्षमा उभिएको विल्वल नेतृत्वको नेकपालाई वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ । सो पार्टीका गतिविधिले सरकारका सुरक्षा निकायहरुलाई हैरान पारेको छ । भ्रष्टाचार र महंगीले जनता उत्पीडनमा परेको बेला दलाल र कमिशन एजेन्टहरुको पक्षमा निर्णय गर्न पछि नपर्ने सरकारी नेकपालाई विद्रोही नेकपाका गतिविधि चुनौती बन्न पुगेका छन् ।

नेकपा माओवादीको नेतृत्वमा नेपालमा दस वर्षसम्म चलेको जनयुद्धका उपलब्धिहरूलाई धराशायी बनाउने गरी जनयुद्धको मूल नेतृत्वमा रहेका प्रचण्ड र बाबुरामले पार्टीलाई संशोधनवादी धारमा पुर्याएको र हिाजो आफैँले शत्रु मानेर लडेका शक्तिहरुसँग एकता गरी वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक रूपले पतन भएको भन्दै विप्लव, मोहन वैद्यसमेतका नेताहरुले २०६९ सालमा प्रचण्डलाई छाडेर नेकपा–माओवादी गठन गरेका थिए । वैद्य नेतृत्वको ड्यास माओवादी गठन भएपछि उक्त पार्टीले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाभन धोका हो भन्दै सक्रिय बहिष्कार गर्ने निर्णय गरेको थियो र बहिष्कार मोर्चाको नेतृत्व विप्लवलाई सुम्पिएको थियो ।

तर वैद्य पार्टीका रामबहदुर थापा बादल, देव गुरुङ, पम्फा भुसाल, सूर्य सुवेदी पथिकलगायत नेताहरुले पार्टी निर्णय उल्लङ्घन गर्दै उक्त निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई हराउन कतै काङ्ग्रेस, कतै एमाले, कतै राप्रपाका नेताहरुलाई भोट हाल्ने उर्दी जारी गरेको र कयौँ स्थानमा भोटको बार्गेनिङ गरी पैसा खाएको समाचार बाहिरिएको थियो । त्यसपछि फेरि उक्त पार्टीमा विग्रह सुरु भयो र २०७२ सालमा विप्लवले मोहन वैद्य नेतृत्वको पार्टीसँग पनि विद्रोह गरी नेकपा माओवादी गठन गरे । चुनावलगत्तै रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाललागायत नेताहरु वैद्य नेतृत्वको पार्टी छाडेर प्रचण्डको पार्टीमै फर्किएका थिए ।

प्रचण्ड–बाबुरामले जनयुद्धको जहाजलाई सुरक्षित अवतरण गराउन नसकेर संसदीय भासमा डुबाएको भन्दै मोहन वैद्य ‘किरण’ को नेतृत्वमा ठूलो हिस्साले विद्रोह गर्दै नयाँ पार्टी निर्माणको घोषणा गरे पनि पार्टी निर्माणको तीन वर्षसम्म क्रान्ति सुरु नगरेको भन्दै विप्लवहरु उक्त पार्टीबाट सम्बन्धविच्छेद गरी नयाँ पार्टी बनाउन पुगेका थिए । विप्लवको नेतृत्वमा नयाँ पार्टी गठन भएपछि २०७३ सालमा प्रचण्डको पार्टीका शीर्ष तहका नेता हेमन्तप्रकाश ओली सुदर्शन पनि विप्लव पार्टीमै समाहित हुन आइपुगेका थिए ।

काठमाडौँको खुलामञ्चमा उद्घाटन भएर रोल्पाको थबाङमा सम्पन्न भएको विप्लव नेतृत्वको पार्टीको आठौँ महाधिवेशनपछि यो पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको छ । मङ्सिर ८ गते विप्लवले नयाँ पार्टी बनाएको दिन हो भने यही दिन २०५८ साल मङ्सिर ८ गते जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) तत्कालीन सत्तासँग लड्न भन्दै जनमुक्ति सेना नेपालको घोषणा गरेर शाहीसेनाका ब्यारेकहरुमाथि हमला गरेको थियो । यो दिनलाई माओवादीहरुले ऐतिहासिक दिन भन्दै र मान्दै आएका छन् । नेकपाका महासचिव विप्लवले भनेका छन्– ‘आत्मसमर्पणवादी, विसर्जनवादी र पुँजीवादीहरूको हमलामा परेर माओवादी पार्टी विसर्जनको दिशामा पुगेपछि नेकपाको नेतृत्वमा नयाँ पहल गरिएको दिन हो मङ्सिर ८ गते ।

यो एक ऐतिहासिक वीरता, बलिदानको सन्दर्भ र अवसरको दिन पनि हो ।’ विप्लव नेतृत्वमा पार्टी पुनर्गठन भएपछिका ७ वर्षमा नेकपाभित्र निकै ठूला उथलपुथलहरू पनि भएका छन् । यो अवधिमा पार्टीभित्रका कैयौँ गद्दारहरू पार्टीबाट बाहिरिएका छन् भने कैयौँ क्रान्तिकारीहरू यो पार्टीमा समाहित भएका छन् । यो अवधिमा नेकपाका १ दर्जन हाराहारी विप्लवका नेता–कार्यकर्ताहरूको बलिदान भैसकेको छ भने सयौँ नेता–कार्यकर्ता जेल र हिरासतमा छन् । पार्टीमा विप्लवपछि दोस्रो वरियताका मानिने वैचारिक नेता हेमन्तप्रकाश ओली सुदर्शन यतिबेला जेलमा छन् भने सरकारले उक्त पार्टीलाई प्रतिबन्ध लगाएको दुई वर्ष पूरा हुन लागेको छ ।

विप्लव नेकपाले दिएको जानकारीअनुसार पार्टीको सातौँ पुनर्गठन दिवस देशव्यापी रूपमा तीन दिनसम्म भव्य कार्यक्रम गरी मनाइने भएको छ । जसअनुसार मङ्सिर ६, ७ र ८ गते देशव्यापी रूपमा प्रचारप्रसार, वालपेन्टिङ, जुलुस, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाइन लागेको हो । पार्टीस्रोतका अनुसार ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गरिनेछ भने ७ गते देशव्यापी प्रदर्शन र जनसभाहरू गरिनेछन् । ८ गते पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव मनाइनेछ । विप्लवले पार्टी पुनर्गठन हुनु ऐतिहासिक महत्वको क्षण भएको र यसैको नेतृत्वमा एकीकृत जनक्रान्ति अघि बढिरहेको भन्दै यसलाई दमनले रोक्न नसक्ने बताएका छन् ।


सम्बन्धित समाचार