Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा मंगलबारबाट लामिछानेसँग बयान लिन सुरु गरिएको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन्। दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म लामिछानेसँग बयान लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए। उनले भने, आजबाट औपचारिक बयान सुरु भएको छ। हिजो विभिन्न बैंकहरूमा पत्राचार गर्ने काम भयो। भोलि बयान गर्ने कि नगर्ने भन्ने सरकारी वकिलसँग सल्लाह गर्छौं। हामीले पत्राचार गरेका बैंक तथा कार्यालयहरूले जवाफ पठाएपछि मागेका विवरण उपलब्ध गराएपछि त्यसमा आधारित भएर पनि बयान लिँदै जान्छौँ। उनको बयान सकिएको छैन। चरण–चरणमा भइरहन्छ। लामिछानेको बयान जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको रोहबरमा भइरहेको छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत शुक्रबार नै काठमाडौँबाट पक्राउ गरेर कास्की लगेर बुझाएको थियो। शनिबार राति नै पुर्याए पनि सार्वजनिक विदाका कारण त्यसदिन अनुसन्धान अगाडि बढेन। उनलाई अदालतमा उपस्थित गराएर म्याद थपको काम पनि बाँकी थियो। आइतबार लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने बेलामा रास्वपाका कार्यकर्ताले अवरोध गरेका थिए। उनीहरूको आन्दोलनका कारण प्रहरीले ढिलो गरी मात्रै अदालतमा उपस्थित गराएको थियो। आइतबार जिल्ला अदालतले लामिछानेलाई पक्राउ परेको मितिबाट ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ। उक्त म्याद बुधबार सकिँदैछ। तर प्रहरीले बुधबारसम्ममा अनुसन्धान नसक्ने भएको छ। बयान नै बाँकी रहेको प्रहरी अधिकारीहरूले बताए। जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकारीहरूले यसअघि पनि लामिछानेसँग सोधपुछ कागज गरेका थिए। गोर्खा मिडिया नेटवर्क, नेचरहब्स र नेचर नेस्ट कार्यालयमा प्रहरीले छापा मारेको थियो। छापा मारेर केही कागजात नियन्त्रणमा लिइसकेपछि उनीसँग प्रहरीले सोधपुछ गरेको थियो। यस्तै सहकारीका समस्याबारे संसदीय छानबिन समितिले पनि उनीसहित छविलाल जोशी र अन्य आरोपितसँग बयान लिएको थियो। यसअघिका बयानमा उनीहरूले आफ्नो संलग्नता इन्कार गरेका थिए। यस्तै प्रमाणले पुष्टि गरेका विषयमा पनि आफूलाई थाहा नभएको जवाफ दिएका थिए। तर प्रहरीले अदालतमा मुद्दा लैजानुअघि सरकारी वकिलको रोहबरमा छुट्टै बयान लिन्छ। उनीमाथि सूर्यदर्शन, सुप्रिम, सहारा लगायतका ५ वटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। त्यसमा पनि लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ गएको र उक्त रकम अपचलन गर्दा अधिकांश चेक लामिछानेले नै जारी गरेको संसदीय छानबिन समितिको ठहर छ। सोही संलग्नताका आधारमा उनलाई कानुनी दायरामा ल्याउन संसदीय छानबिन समितिले सिफारिस गरेको थियो। समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल