Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रहेनन् सर्जक सुब्बा

काँकडभिट्टा । सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बजे सिलिगुडीमा निधन भएको छ । उनी ७० वर्षका थिए । शनिबार बिहान अचानक हृदयघात भएपछि सिलिगुडीको न्यूटिया अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको छोरी निरन्जना सुब्बाले जनाएकी छन् । करिब एक दशकअघि मस्तिष्कघातबाट गम्भीर बिरामी परेका सुब्बा त्यसयता निरन्तर अस्वस्थ थिए । उनको मुटु र मृर्गौलामा समस्या देखिएको थियो । सिलिगुडी नजिक शिवमन्दिरस्थित छोरीको घरमा उनी बस्थे ।
नेपाली सांगीतिक आकासका लोकप्रिय गायक सुब्बाको निधनले परिवारमात्र होइन‚ हजारौं शुभचिन्तकलाई समेत मर्माहत बनाएको उनका सहयात्री संगीतकार कर्म योन्जन बताउछन् । भन्छन्, कुमार केही समयदेखि बिरामी नै थियो, पहिलाको जस्तो गाउन सक्दैनथ्यो । उसको निधनले नेपाली संगीत जगत टुहुरो बनेका छ । सुब्बा लामो समय दार्जिलिङको सांस्कृतिक विभागका जागिरे पनि थिए । अघिल्लो पटक बिरामी परेपछि उनी जागिरबाट सेवा निवृत्त भएका थिए ।
करिब १२ वर्षअघि ‘पलेटी’ कार्यक्रमको एक गायनका लागि उनी नेपाल आएका थिए । त्यसबेला आफ्ना सहकर्मीहरू अमर गुरुङ, मञ्जुल, मानबहादुर मुखिया, प्रकाश गुरुङलगायतसंग उनको भेट भएको थियो । ‘त्यसयता बाबा बिरामी पर्नुभयो‚ नेपाल जानै पाउनुभएन, उनकी छोरीले भनिन् । दुई पटक प्रयत्न गर्दा पनि जान सक्नुभएन । बाबाको पलेटीमा गीत गाउने इच्छा अधुरै रह्यो, उनले भनिन् । एकपटक गायक कर्मा योञ्जन र उनलाई नेपालै बस्ने गरी बोलावट भएको थियो । तर‚ उनीहरू दुवै जनाले यो प्रस्ताव अस्वीकार गरेका थिए । जुन बेला जानुपर्ने थियो‚ त्यसवेला गइएन, केही समयअघि सुब्बाले भनेका थिए, अब त बुढो पनि भइएछु‚ जानै मन लाग्न छाड्यो ।