राप्रपाका ३ पूर्वअध्यक्षको चेतावनी : पार्टी कमजोर हुँदा मुकदर्शक नबन्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी कमजोर बन्दै गएको अवस्थामा आफूहरू मुकदर्शक बनेर नबस्ने चेतावनी दिएका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन नेताले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको उल्लेख गर्दै आगामी महाधिवेशनलाई सफल र निष्पक्ष बनाउन नेतृत्वलाई आग्रह गरेका हुन्। उनीहरूले मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णयलाई स्वागतयोग्य बताएका छन्।
पूर्वअध्यक्षहरूले पार्टीभित्र बढ्दो निराशा र असन्तुष्टिलाई सम्बोधन गर्न अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत सहभागी रहने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने सुझाव दिएका छन्। तर, आफ्ना रचनात्मक सुझावलाई बेवास्ता गरी पूर्वअध्यक्षहरूलाई नै लक्षित गरेर आरोप लगाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
विज्ञप्तिमा महाधिवेशन समयमै नहुने वा निष्पक्ष रूपमा सम्पन्न नहुने आशंकाका कारण केही नेताहरूले पार्टी परित्याग गरिसकेको र कार्यकर्तामा समेत निराशा बढ्दै गएको उल्लेख गरिएको छ। उनीहरूले पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र व्यवहारिक कार्ययोजनामार्फत कार्यकर्तामा नयाँ विश्वास जगाउनुपर्नेमा जोड दिएका छन्।
तीन पूर्वअध्यक्षले आफूहरू कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीतिमा संलग्न नभएको स्पष्ट पार्दै पार्टी एकता सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई महाधिवेशन केन्द्रित हुन आह्वान गरेका छन्।