Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमण सकेर हिजो काठमाडौं फर्किए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संयोजन गरेको यो भ्रमण निकै भव्य र सभ्य भएको दाबी गरिएको छ । भ्रमण सफल बनाउन लिङदेन आफ्नो गृहजिल्लामा डेढ हप्तासम्म खटिएका थिए । पूर्वराजाको स्वागत र अभिनन्दनमा हजारौंको संख्यामा झापालीहरु सडकमा आएका थिए । राप्रपाले पूर्वराजाको खातिरदारीमा कुनै कसर छोडेन । यो भ्रमणबाट देशको प्रमुख राजावादी शक्ति राप्रपा र राजसंस्थाको आपसी सम्वन्ध थप मजबुत बनेको छ । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्वीर चर्चामा छ, जहाँ पूर्वराजा ज्ञानेन्द्र, उनकी छोरी प्रेरणा र भतिजी शिताष्माका साथमा राप्रपा अध्यक्ष लिङदेन देखिन्छन् । पूर्वराजासँग लिङदेन एउटै लहरमा बस्नुलाई कतिपयले अर्थपूर्ण र सकारात्मक मानेका छन् । साथै लिङदेनको पोशाकले पनि धेरैको ध्यान तानेको छ । यो तस्वीर हिजो मेची रिसोर्टमा आयोजित एउटा ‘सामूहिक दर्शनभेट’ को हो । पूर्वी क्षेत्रका राप्रपाका नेताहरुले रिसोर्टमा पुगेर पूर्वराजासँग सामूहिक भेटघाट र चिनापर्ची गरेका थिए । अध्यक्षले सबै नेताहरुलाई परिचय गराए भने नेताहरुले पूर्वराजासमक्ष आ–आफ्नो कुरा खुलस्त राखे । उक्त भेटमा राप्रपाका रोशन कार्की, राजेन्द्र गुरुङ, भक्ति सिटौला, गोपाल दाहाल, सगुन लावती, खुस्वु ओलीलगायतका नेताहरुको सहभागिता थियो । पूर्वराजाले सबैको कुरा ध्यान दिएर सुनेमात्रै, आफ्नो तर्फबाट कुनै जवाफ दिएनन् । अध्यक्ष लिङदेनले पनि खासै बोलेनन् । सार्वजनिक भएको तस्वीरमा लिङदेन कोट, पाइन्ट र टोपीमा देखिएका छन् । पूर्वराजासँग भेटवार्तामा प्रायःजसो राजावादीहरु दौरा सुरुवाल लगाएर जाने गर्छन् । लिङदेनले भने अस्तिको औपचारिक कार्यक्रममा पनि कोट पाइन्ट नै लगाएका थिए । यस विषयमा प्रश्न गर्दा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, नेपालको परम्परागत धारको नेतृत्व गरिराखेको मूल संवाहक शक्तिको अध्यक्षले दौरा सुरुवाल लगाउनु–नलगाउनु ठूलो विषय होइन । फेरि हिजोको भेटघाट अनौपचारिक नै थियो । यो भेटघाटको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा धेरैले विभिन्न टिप्पणी गरेका छन् । पुराना पत्रकार खिम घलेले लेखेका छन्, ‘यो हो नि काइदा, लोकतन्त्रको कमाल १ एकथरी धुपौरेहरु राजा भनेका राजा हुन् सबैभन्दा माथि, भगवानका अवतार भनेर स्वार्थ सेकिरहेका छन् । तर, राजेन्द्र लिङदेनले देखाइदिए सबै बराबरी सरिबरी । राजेन्द्र लिङदेन यसरी एउटै लहरमा विनादौरा सुरवाल बसेको तिमीहरु कल्पना गर्न सक्छौं ।’
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल