Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिका कारण सत्ता समीकरण हेरफेर हुन सक्ने

काठमाडौं। चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति निर्वाचनसहितका विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आफ्नो प्राथमिकता रहेको भन्दै सहमतिबाटै आगामी राष्ट्रपति चयन गर्नुपर्ने बताएका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले भने एमालेले राष्ट्रपतिमा आफ्नो दाबी नछाड्ने भन्दै सत्ता समीकरणको सुरुवात हुँदा नै सो सहमति भएको प्रधानमन्त्री प्रचण्डलाई सम्झाएका थिए । ‘पछिल्लो समय राष्ट्रपतिको विषयलाई लिएर ओली र प्रचण्ड एकअर्काबीच सशंकित हुन थालेका छन्,’ स्रोत भन्छ । केही समययता माओवादी केन्द्रभित्र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने र एमाले इतरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने विषयमा छलफल हुँदै आइरहेको छ । गत शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्ड पनि त्यही लाइनमा छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दै छ । निर्वाचन आयोगले भने २५ फागुनमा नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताउँदै आएको छ । राष्ट्रपतिमा प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । कांग्रेसले केही दिनअघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा आफ्नो दलका तर्फबाट उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । एमालेले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दा नै राष्ट्रपति आफ्नो दलले लिने सहमति भइसकेको दाबी गर्दै आइरहेको छ । माओवादी केन्द्र पनि सकेसम्म राष्ट्रपति आफ्नो हातबाट गुमाउन तयार छैन । यस्तै, नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरिरहेको छ ।