Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय सभाको रिक्त १९ सांसद पदका लागि निर्वाचनको तयारी भइरहेको छ । यही बेला राष्ट्रियसभाको अध्यक्ष बन्न कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने ६ सदस्यीय परिषद्को सदस्यसमेत रहने भएकाले विशेष रुचि राख्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवा भने दुई जनामध्ये कसलाई अघि बढाउने भन्नेमा मौन छन् । निर्वाचनपछि मात्रै देउवाले औपचारिक रूपमा मुख खोल्ने उनीनिकट नेताहरू बताउँछन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासहित २० सांसदको अवधि आगामी फागुन २० बाट सकिँदै छ । म्याद सकिनुभन्दा एक महिनाअगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधानबमोजिम रिक्त स्थान पूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदै छ । अध्यक्ष बन्नकै लागि श्रेष्ठ र सिटौलाले राष्ट्रिय सभामा सांसद हुने चाहना राखेका छन् । २० सांसदमध्ये १९ जना निर्वाचनबाट र १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ । संविधान जारीपछिका दुई संसदीय निर्वाचनमा पराजय बेहोरेका सिटौलाले जीवनको उत्तरार्द्धमा सक्रिय राजनीतिबाट सम्मानजनक बहिर्गमन खोज्दै आएका छन् । त्यसका लागि राष्ट्रिय सभा अध्यक्ष उपयुक्त अवसर भएको भन्दै उनीनिकट नेताहरूले समेत सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्न सुझाउँदै आएका हुन् । १९ सिटका लागि हुने निर्वाचनमा सत्तारूढ दलहरूले चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । तर, सिट भागबन्डाको विषयमा आगामी सातादेखि छलफल हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । उनका अनुसार सत्तारूढ दलबाट रिक्त हुने संख्या कायम राखेर प्रमुख प्रतिपक्ष एमालेको सिटमा भागबन्डा हुनेछ । राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र १ गरी १९ पद रिक्त हुँदै छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी विमला राई पौड्याल एमाले नेतृ हुन् । उनको समेत गर्दा एमालेबाट रिक्त हुने ९ सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने गरी अनौपचारिक छलफल भइरहेको छ । कांग्रेस महामन्त्री शर्मा सरकारको नेतृत्व माओवादीले गरेको, प्रतिनिधिसभामा एमालेबाट सभामुख रहेको अवस्थामा शक्ति सन्तुलनको हिसाबले पनि संवैधानिक परिषद्मा कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पाउनेमा शंका नभएको बताउँछन् । दोस्रो संविधानसभामा मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौला त्यसपछि भएका ०७४ र ०७९ को संसदीय निर्वाचनमा पराजय भएपछि उनको राजनीति यात्रामा ठूलो धक्का पुर्याएको थियो । पार्टीभित्रै पनि सिटौला शक्तिहीन बन्दै गएका छन् । तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी भएर सिटौलाले पार्टीभित्र तेस्रो धारको बीजारोपण गरेका थिए । संसदीय निर्वाचनको हार र प्रभावशाली युवा नेताहरू महामन्त्री गगन थापा र केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ पाउन छाडेपछि सिटौला नेतृत्वको तेस्रो धारको अस्तित्व संकटमा पर्दै आएको छ । तर थापा र पौडेल पनि सभापति देउवासँगको सहकार्यमा अघि बढ्न थालेपछि सिटौलाको साथ छोडे । एक वर्षअघिको संसदीय निर्वाचनबाट पराजित हुनासाथ सिटौला राष्ट्रपति बन्ने दौडधुपमा पनि लागे । तर सत्ता गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने सहमत भएपछि सिटौलाले हात झिके । सिटौलानिकट पूर्वमन्त्री भीमसेन दास प्रधान त्यतिबेलै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन आश्वासन दिइएको दाबी गर्छन् । सिटौलानिकट उद्धव थापाका अनुसार राष्ट्रिय सभाको अध्यक्षका लागि सिटौलाले आफ्नो समूहमा रहेका नेताहरूसँग छलफल गरिरहेका छन् । अध्यक्षकै लागि भनेर पार्टीका पूर्वउपसभापति समेत रहेका गोपालमान श्रेष्ठले लबिइङ गरिरहेका छन् । श्रेष्ठ समानुपातिकबाट सांसद हुन नसकेपछि राष्ट्रिय सभामा आउन लागेका हुन् । उनको नाम समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरमा एक नम्बरमा थियो । तर सभापति देउवाले खसआर्यबाट प्रकाशरण महतलाई बनाएपछि श्रेष्ठ प्रतिनिधिसभाको सांसद हुने रिङबाट बाहिरिए । राष्ट्रिय सभा अध्यक्ष हुनकै लागि उनले दुई महिनाअघि समानुपातिक सूचीबाट आफ्नो नाम पनि हटाएका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म नाम हटाएमा समानुपातिक सूचीमा रहेकाहरू पनि राष्ट्रिय सभाका सदस्यका लागि उम्मेदवार बन्न सक्नेछन् । समानुपातिक सूचीबाट नाम हटाउन पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयसहित आयोगमा पत्र पठाउनुपर्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल