Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलाली, बर्दिया, मकवानपुर, उदयपुर, नवलपरासी पश्चिम र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट खैरो हेरोइन १३० मिलिग्रामसहित कालिकोटको खाँडाचक्र नगरपालिका–३ का २९ वर्षीय जगदिश पाण्डे सोमबार दिउँसो पक्राउ परेका छन्।
त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर चोकबाट खैरो हेरोइन ७८० मिलिग्रामसहित गुलरिया नगरपालिका–१ का २० वर्षीय समोहित परियार पक्राउ परेका छन्। सोही नगरपालिका–११ को बाइपास रोडबाट ब्राउनसुगर २०० मिलिग्रामसहित बाँकेको खजुरा गाउँपालिका–२ की २३ वर्षीया दिपिका वली पनि सोमबार साँझ पक्राउ परेकी छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ लोकप्रिय मोडबाट खैरो हेरोइन १५० मिलिग्रामसहित बागमती गाउँपालिका–६ फापरबारीकी २५ वर्षीया रूपा विश्वकर्मा पक्राउ परेकी छन्। त्यस्तै, हेटौंडा–२ कै चौकीटोलबाट खैरो हेरोइन ७०० मिलिग्रामसहित कैलाश गाउँपालिका–१० घर भई सोही स्थानमा डेरा गरी बस्ने २२ वर्षीय बिनोद थिङसहित चार जना पक्राउ परेको प्रहरीले जनाएको छ।
यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकबाट डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० ट्याब्लेटसहित सोही नगरपालिका–३ राजनागीका ४२ वर्षीय लक्ष्मण राईसहित दुई जना पक्राउ परेका छन्।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रैयाबाट खैरो हेरोइन ८९० मिलिग्राम र नाइट्राजेपाम १२ ट्याब्लेटसहित पाल्हीनन्दन गाउँपालिका–३ का ३५ वर्षीय गुलाम जिलानी अन्सारी पक्राउ परेका छन्। प्रहरी चौकी गोबरहियाबाट खटिएको टोलीले यूपी ५६ यू ७१६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।
त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ प्रगति चोकबाट खैरो हेरोइन १ ग्राम ७५० मिलिग्रामसहित २० वर्षीय सुमन बस्नेत पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल