Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लवको निश्कर्षले प्रचण्डलाई खतरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकता वा सहकार्य नहुने निष्कर्ष निकालेका छन् । उनले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् । विप्वले प्रचण्डलाई बेइमान भनेका छन् । प्रचण्ड र बाबुराम भट्टराईले क्रान्तिप्रति बेइमानी गरेको विप्लवको आरोप छ । उनले भनेका छन्,’ प्रचण्डहरुले जनयुद्धको नक्कल गरेर क्रान्ति हुँदैन भन्ने तर्क गर्नु हददर्जाको बेइमानी मात्र हो ।’
प्रचण्डको कडा आलोचना गरेका विप्वले क्रान्तिमाथि धोकाधडी गरेको आरोप समेत लगाए । उनले प्रचण्ड र बाबुरामको नाम नै उल्लेख गरेर लेखमार्फत् भनेका छन्, ‘हामी लड्दैछौं, तिमीहरुले दिएको धोका बेइमानी, साम्राज्यवाद र संसद्वादले दिएको धोका सबैलाई पचाएर सर्वहारा वर्ग र कम्युनिस्टहरुलाई विजयी तुल्याउने गरी सशस्त्र क्रान्तिको तयारी गर्दैछौं ।’ प्रचण्डको क्रान्तिकारी विचार र सोच सकिएको विप्लवको ठहर छ । उनले भनेका छन्, ‘नेपाली क्रान्तिमा बल प्रयोगको आवश्यकता सकिएको नभई प्रचण्डको क्रान्तिकारी विचार र सोच सकिएको हो ।’
प्रचण्डले विगतमा सशस्त्र गतिविधिको विरोध गर्नेलाई विभिन्न आरोप लगाउने गरेको समेत विप्लवले खुलासा गरेका छन् । उनले भनेका छन्, ‘जनयुद्धका समयमा सशस्त्र संघर्षको विरोध गर्नेहरु प्रचण्डको दृष्टिकोणमा साम्राज्यवादीका पाले र प्रतिक्रियावादी तत्वहरु हुन्थे ।’ आफूले सशस्त्र गतिविधि गर्दा क्रान्ति भन्ने र विरोधीलाई ठेगान लगाउने गरेको समेत आरोप लगाएका छन् । प्रचण्डले देशभित्र युद्ध लडाएर भारतमा वार्ता गरेको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘हामी प्रचण्डको जस्तो नेपालमा युद्ध लडाएर भारतमा वार्ता गर्ने नक्कल त गरेका छैनौं नि १’