Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विषाक्त मदिराले लियो ३६ जनाको ज्यान

काठमाडौं । भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर ३६ जनाको मृत्यु भएको छ। राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवन गरेर यो संख्यामा प्रयोगकर्ताहरूको मृत्यु भएको हो। छपरा सदर अस्पतालको तथ्यांकअनुसार छपरामा ३३ र पटनाको पिएमसिएचमा रेफर भएर गएका तीन जनाको मृत्यु भएको छ। यसबाहेक इसुआपुर र फोजी नामक स्थानमा कुल ७ जना बिरामी फेला परेका छन्। उनीहरू विषाक्त मदिरा सेवन गरेर घरमा लुकेर बसेका थिए। सिविल सर्जन र बाँकी कैयौं टिम त्यो क्षेत्रको घर–घर पुगेर जाँच गरिरहेको छ।
बिहारमा ६ वर्षअघि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएयता विषाक्त मदिरा सेवनका कारण यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो घटना हो। बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले बिहारमा उत्तर प्रदेस र हरियाणाबाट मदिरा आपूर्ति भइरहेको बताएका छन्। ‘बढी मात्रमा मदिरा उत्तरप्रदेस र हरियाणाबाट आइरहेको छ। त्यहाँ भारतीय जनता पार्टी सत्तामा छ। उनीहरूले कडाइ गरेका छैनन्। प्रतिपक्षी दलका नेताको घरबाट १०८ कार्टुन मदिरा बरामद भएको हामीलाई जानकारी प्राप्त भएको छ,’ यादवले भनेका छन्। मदिरा कारोबारीमाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ। पछिल्लो २४ घण्टामा ८७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प्रहरीले जनाएअनुसार ६१ लिटर मदिरा बरामद गरिएको छ भने ३० वटा भट्टीलाई नष्ट गरिएको छ। यस्तै १३ हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको छ। सारण प्रहरीले पछिल्लो ७२ घण्टामा २१३ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।