Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वुहान भ्रमणमा राष्ट्रपति सी चिनफिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहान पुगेका छन् । चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले वुहानको भ्रमण गरेका हुन् । सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या केवल १९ थियो । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे जानकारी लिनेछन् । साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिभकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयसँग भेट गर्नेछन् । सोमबार देखिएको १९ संक्रमणमध्ये १७ जना वुहानका छन् । बाँकी दुई संक्रमण भने राजधानी बेइजिङ र गुआङडोङ प्रान्तका हुन् । तर बेइजिङमा भेटिएको संक्रमण बेलायतबाट र गुआङडोङमा भेटिएको संक्रमण पनि स्पेनबाट आएको बताइएको छ । चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार १३६ को मृत्यु भएको छ भने ८० हजार ७५४ संक्रमित भएका छन् ।
चीनको हुबेई प्रान्तका अधिकारीहरुले व्यावसायिक क्षेत्रलाई सामान्य अवस्थामा तयारी गरेका छन् । स्थानीय पार्टीका प्रमुख यिङ योङले सोमबारको बैठकमा यस्तो निर्णय भएको बताएका हुन् । उनले विश्वव्यापी निर्यातको सञ्जाल भएका कम्पनीलाई सरकारले सहयोग गर्ने उनले बताएका छन् । साथै अन्य कम्पनीहरुलाई पनि सुरक्षित र सही समयमा आफ्नो व्यवसाय सञ्चालनको लागि सहयोग गरिने बताएको त्यहाँको स्थानीय समाचार पत्रिकाले उल्लेख गरेको छ ।
विश्वभर यो भाइरसको कारण मृत्यु हुनेको संख्या ४ हजार २७ पुगेको छ । संक्रमितको संख्या पनि १ लाख १४ हजार नाघिसकेको छ । चीनपछि सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटालीमा यो भाइरसबाट मर्नेको संख्या ४६३ पुगेको छ भने इरानमा २३७ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा यो भाइरसबाट ज्यान जानेको संख्या ५४ पुगेको छ । स्पेन र फ्रान्समा समान ३० जनाको ज्यान गएको छ भने अमेरिकामा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगिसकेको छ ।


सम्बन्धित समाचार