Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैज्ञानिकले गरे कोरोनाविरुद्धको खोप सफल भएको दाबी

एजेन्सी । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ । त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो । अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ । अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ । परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूको विश्वास छ । बेलायतका सरकारी अधिकारीहरू कोरोना भाइरसविरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वासमा छन् । ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड–१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ । व्यापार व्यवसाय मामिला हेर्ने बेलायती मन्त्री आलोक शर्माले अक्सफोर्ड विश्वविद्यालयमा खोपको क्लिनिकल परीक्षण राम्रोसँग अगाडि बढिरहेको र त्यो सफल भए गर्मीयाम नसकिँदै खोप तयार हुने बताएका छन् । मन्त्री शर्माले अक्सफोर्ड र इम्पेरियल कलेजमा अहिले जारी परीक्षणलाई सघाउन सरकारले थप ८ करोड ४० लाख पाउन्ड उपलब्ध गराउने घोषणा पनि गरे । यसअघि सरकारले खोप विकासका लागि अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको समूहलाई ४० मिलियन पाउन्ड उपलब्ध गराइसकेको छ ।