Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

व्यापारी अडुकियातिर सोझियो अनुसन्धानको पारो

काठमाडौँ । सामान्य मजदुरका नाममा कम्पनी खडा गरेर अरवौंको कारोबार गरियो । भरिया समातियो तर मुख्य लगानीकर्ता फुक्काफाल । क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको छ । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् । स्कुटरको ब्रेक सु मा लुकाएर हङकङबाट असार २९ मा भित्र्याइएको करिब १ क्विन्टल सुन साउन २ मा बरामद भएपछि अडुकिया सम्पर्कविहीन छन् । सुन तस्करीको सञ्जालमा अडुकिया रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान गर्ने क्रममा उनी २०७९ असोजदेखि २०८० असारसम्ममा त्रिभुवन विमानस्थलबाट १४ पटक हङकङ पुगेको खुलेको हो । यस क्रममा उनले नेपाली राहदानी प्रयोग गरेका थिएनन् । जबकि नेपाली नागरिककै हैसियतमा विगतमा उनी बैंक÷वित्तीय संस्था, सेयर कारोबार, अरू व्यापार–व्यवसायमा आबद्ध थिए । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अडुकियाले हङकङस्थित भारतीय नियोगबाट २०१० जुलाई ३ मा राहदानी लिएको पाइएको छ । २०१८ जुलाई १० मा राहदानी नवीकरण गर्दा भने अर्कै नम्बर उल्लेख गरिएको छ । नेपाली नागरिकका रूपमा व्यापार–व्यवसाय गरिरहेका अडुकियाले कसरी भारतीय राहदानी लिए भन्ने विषय पनि अनुसन्धानका क्रममा रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । अध्यागमनको अभिलेखअनुसार अडुकिया पछिल्लो पटक जुलाई ५ (असार २०) मा हङकङबाट दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । त्यसको ९ दिनपछि करिब १ क्विन्टल सुन हङकङबाट भित्रिएको थियो । अडुकिया त्रिभुवन विमानस्थलबाट जुन २६ मा दिल्ली हुँदै दुबईबाट हङकङ पुगेको देखिन्छ । त्यसअघि मे २६ मा काठमाडौंबाट हङकङ पुगेका उनी ४ दिनपछि मे ३० मा हङकङबाट बैंकक हुँदै काठमाडौं आएका थिए । यस्तै, अप्रिल १३ मा काठमाडौंबाट दिल्ली पुगेका उनी उतैबाट हङकङ–बैंकक हुँदै काठमाडौं आएका थिए । जनवरी १५ मा काठमाडौंबाट हङकङ पुगेका उनी एक साता बसेर जनवरी २२ मा काठमाडौं फर्किएका थिए । अडुकिया डिसेम्बर २२ मा काठमाडौंबाट दिल्ली पुगेका बेला तीन दिनपछि नै हङकङबाट दुबई हुँदै काठमाडौं आएका थिए । उनी सन् २०२२ नोभेम्बर १९ मा काठमाडौंबाट हङकङ गएर नोभेम्बर २५ मा फर्किएका थिए । त्यसअघि अक्टोबर १ मा काठमाडौंबाट हङकङ गएर उनी अक्टोबर ८ मा आएका थिए । अध्यागमनको अभिलेखअनुसार त्यसअघि २०७७ पुसदेखि ०७९ असोज ९२०२२ अक्टोबरअघि० सम्ममा अडुकियाले काठमाडौं–हङकङ २२ पटक ओहोरदोहोर गरेको देखिन्छ ।अडुकियाले पछिल्लो १० वर्षमा कुन मुलुकको कति पटक यात्रा गरे भन्ने विवरण र उनका शंकास्पद गतिविधिबारे विभाग र प्रहरी दुवै निकायले सुन तस्करीको गिरोहसँग जोडेर अनुसन्धान गरिरहेका छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सन् २०१४ अप्रिल ५ देखि ०२३ जुलाई ५ सम्म अडुकिया भारतीय राहदानीबाटै १ सय ४२ पटक भारत, दुबई, हङकङलगायत देश गएको देखिन्छ । ती मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ४१ पटक फर्केका थिए, जसअनुसार उनले वर्षमा सरदर ३१ पटक त्रिभुवन विमानस्थल प्रयोग गरेको देखिन्छ । राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले साउन २ मा बरामद गरेको सुन रेडी ट्रेड कम्पनीका नाममा स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको थियो । विमानस्थलको भन्सार जाँचपासपछि सिनामंगल सडकमा पुर्‍याइएका बेला ब्रेक सु बरामद गरिएको थियो । त्यसलाई खोलेर हेर्दा करिब एक क्विन्टल सुन पाइएको हो । हङकङबाट इलेक्ट्रोनिक्स लाइटको आवरणमा कार्गो गरी ल्याइए पनि विमानस्थलबाट भन्सार पास गराउँदा ब्रेक सु उल्लेख गरिएको थियो । ब्रेक सुमा रहेको सुन अडुकियाले नेपालमा व्यवस्थापन गरी भारतसम्म पुर्‍याउने जिम्मा लिएको आशंका छ । क्विन्टल सुन बरामदपछि राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी, ४ भन्सार एजेन्ट, रेडीका सञ्चालक र उनका एक आफन्त, २ विदेशी (भारतीय र चिनियाँ) सहित शंकास्पद १७ जनालाई पक्राउ गरिसकेको छ । बूढानीलकण्ठमा कार्यालय रहेको रेडी ट्रेडका सञ्चालक दिलीप भुजेलले बयानमा तस्करी प्रकरणमा अडुकियाकै योजनामा काम भएको संकेत गरेका छन् । अडुकिया अहिले कहाँ छन् भन्नेबारे विभागका अधिकारीले केही बताउन चाहेनन् । अनुसन्धानकै क्रममा विभागका कर्मचारी र प्रहरीको संयुक्त टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेर केही कागजात, ल्यापटपलगायतका उपकरण बरामद गरिसकेको छ ।