Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिक्षा र स्वास्थ्य मानिसको पहिलो आवश्यकता हो

० अमित कुमार लामा, वडाध्यक्ष माडी नगरपालिका वडा नं.१ 

राजनीतिलाई फरक दृष्टिकोबाट बिश्लेषण हुँदै गईरहेका वर्तमान अवस्थामा केही यस्ता ब्यक्तिहरू छन् जस्ले नेपाली राजनीतिलाई समाजको उन्नतीसंग जोडेका छन् । गाउँको बिकास र समुन्तिसंग जोडेका छन् । जनप्रतिनिधिहरू खासै जिम्मेवार छैनन्, जनता प्रति भन्ने चर्चा यत्रतत्र छ तर यस्ता जनप्रतिनिधिहरू जो चौविसै घण्टा जनता प्रति प्रतिबध्द छन् । ख्याल ख्यालैमा राजनीतिमा प्रवेश गरेका तर जनताको जिम्मेवार अभिभाबकको रुपमा आफ्नो भुमिका निर्वाह गर्दै आएका कर्तब्यनिष्ठ र प्रतिबध्द जनप्रतिनिधि हुन् अमित कुमार लामा । चितवन जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने माडी नगर पालिका वडा नंं. १ का वडा अध्यक्ष हुन उनि । जनताको सेवा र वडाको बिकास र नेपाली राजनीत, जनताको अपेक्षा र चुनौतीको सेरोफेरोमा रहेर ताजाखबर साप्ताहिकका लागि माडी नपा १ का वडा अध्यक्ष अमित कुमार लामासंग सानु श्रेष्ठले गरेको कुराकानीः 

० रानीतिमा प्रवेश कसरी गर्नु भयो ?
राजनीति मेरो रुचिको विषय थिएन । खेलकूदमा अति नै आशक्त थिए । किसानको छोरा, देशको विकास र जनताको समृध्दि कसरी सम्भव छ भन्ने चिन्तामा जहिल्यै थिएँ । छरपष्ट राजनीति देखें, लथालिंग नेतृत्व देखें । यसरी त सम्भव छैन अब आफै नउठी मेरो ठाउँ नउठ्ने भयो भन्ने लाग्दै थियो । अचानक हाम्रो ठाउँमा विक्रम पाण्डेको प्रवेश भयो । ठूलो ब्यवसायी, संघर्षबाट सफल भएको मान्छे, उहाँको आगमन हाम्रो क्षेत्रमा हुनु हाम्रो लागि सौभाग्य हो भन्ने लाग्यो, बिकास निर्माणमा लहर आउँछ भन्ने लाग्यो । गाउँको बिकासको हुटहुटी भएको ब्यक्ति भएको नाताले म उहाँसंग जोडिएँ, राप्रपाको कार्यकर्ता बन्न राजी भएँ । यसरी राजनीतिमा प्रवेश गरियो । हिजोको मेरो मेहनत र सामाजिक निष्टाको कारण पहिलो स्थानिय तहको निर्वाचनमा वडा सदस्य र दोश्रो निर्वाचनमा वडा अध्यक्ष बन्न सफल भएँ । म वडा अध्यक्ष बन्नुमा सबै राजनीतिक पार्टी र जनताको ठुलो भूमिका छ । त्यसको लागि वडावासी तथा सम्पूर्ण नगरवासीहरू प्रति आभार ब्यक्त गर्दछु ।

० बाल्यकाल कस्तो थियो ?
म यही जन्मिए, पितापूर्खाहरूको थातथलो लम्जुंग जिल्लाको राइनास थियो, हजुरबुवा २०२२ सालमा चितवन झर्नु भयो परिवार सहित । २०३९ साल फागुन २९ गते मेरो जन्म यही भयो । म भन्दा माथी एक जना दाजु र एक दिदी हुनुहुन्छ भने म भन्दा पछाडी एउटी बहिनी छन् । जम्मा चार जना दाजुभाई दिदी बहिनी भएको परिवार भएका नाताले मेरो बाल्यकाल त्यति कष्टकर भएन तर पनि समय परिवर्तनले गर्दा राम्रोसंग पढ्न पनि सकिएन । संकटकाल थियो त्यो बेला, लाहुरे हुने चाहना थियो तर न नेपाली लाहुरे बन्न सकें न त इण्डियन न त बेलायती अरु त अरु फ्रान्सेली आर्मी बन्न पनि फ्रान्स गएँ सफल भइन अनि स्वदेश फर्किएँ । आखिरमा देशको सेवक बन्न लेखेको रहेछ । त्यसैमा अत्यन्त सन्तुष्ट छु । समग्रमा मेरो बल्याकाल राम्रो नै बित्यो, सामान्य संघर्ष त गर्नै पर्छ नि ।

० सानो पार्टीबाट जीत कसरी भयो ?
सबैको प्यारो थिएँ । सबैलाई आदार सत्कार गर्थे । सबैसंग मिल्थे म भरसक झैझगडा गर्थिन । खेलकूदमा पनि स्थानिय तह देखि जिल्लासम्म राम्रै पहुँच थियो । गुरुहरूको आज्ञाकारी थिएँ । सबैको प्यारो थिएँ म । त्यसैले पहिलो पल्ट वडा सदस्यमा पनि जितेको थिए । यसपटक पनि वडा अध्यक्षमा लड्न भनेर पार्टीबाट माग भयो तर मैले जनतासंगै छलफल नगरी म घोषणा गर्दिन भनेपछि गाउँ, टोल सबैतिर घुमें, सोधें, उहाँहरको चाहना पनि बुझें उठिदिए हुन्थ्यो भन्ने उहाँहरूको आग्रह थियो त्यसलाई सिरोपर गरी वडा अध्यक्ष पदमा निर्वाचन लडे, जिते । मलाई भोट राप्रपाले मात्र होइन सबै पार्टीका जिम्मेवार नेता, कार्यकर्ताले दिनु भएको हो । उहाँहरू सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

० राजनीतिमा सक्रियता नभएको मान्छे कामगर्न गाह्रो भएन ?
राजनीनिमा प्रत्यक्ष संलग्न नभएपनि सामाजिक क्षेत्र र खेल क्षेत्रमा मेरो लगाव पहिले देखि नै थियो । फेरी म केही न केही गरिरहनु पर्छ भन्ने सोचको मान्छे । परिस्थितिले पढाई छोड्न बाध्य भएपनि त्यसैबेला लाईसेन्स बनाउनु पर्छ भनेर लाइसेन्स निकाल्न बाइक चलाउथे । अप्ठेरो परेको ठाउँमा तत्काल पुग्थें, बाढी पहिरो, दैविक प्रकोप आदिमा पहिलो पुग्ने मान्छे म नै हुन्थ्ये । कही पनि म छुट्नु हुन्न भन्ने लाग्थ्यो । २०४९ साल देखि क्लबबाट फुटबल खेल्थे, स्टार स्पोर्टस् क्लब थियो । १२ वर्ष क्याप्टेन भएर काम गरें । कहिले हार कहिले जीत हुन्थ्यो । साथै क्लबबाटै वार्षिक कार्यक्रम हुन्थे, अनेक कार्यक्रम आयोजना गरिन्थ्यो, रक्तदान लगायतका कार्यक्रमहरू आयोजना गरिन्थ्यो । दैवि प्रकोपको बेला राहत संकलन बितरण गर्ने कामको संयोजन भएर धेरै काम गरेको छु । हिजो पनि सामाजिक काम मै संलग्न थिएँ आज पनि सामाजिक काम मै छु । त्यसैले कामगर्न गाह्रो छैन । सिमित साधन र स्रोत भएका कारण आफुले संकल्प र प्रतिबध्दता गरे अनुरुप सतप्रतिशत काम हुन सकेकोे छैन तर सतप्रतिशत इमान्दार भएर काम गरेको छु ।

० के कस्तो कार्यक्रमहरू सञ्चालन गर्नु भएको छ ?
मेरो सोच थियो शिक्षा र स्वास्थ्य सेवा निशुल्क ब्यवस्था गर्छु । बिकास निर्माण धमाधम गर्छु । तर आर्थिक समस्या हुँदो रहेछ । तर पनि शिक्षा र स्वास्थ्य मानिसको पहिलो आवश्यकता हो भनेर कक्षा १ देखि १० सम्म निशुल्क शिक्षाको प्रवन्ध गरेको छु । सुलभ स्वास्थ्य सेवाका लागि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको छु । जस्ले जनतालाई निशुल्क स्वास्थ्य सेवा लिन सहज हुन्छ । सुलभ प्रसुति सेवाको लागि विशेषज्ञ डाक्टर सहितको प्रसुति केन्द्र छ त्यो पनि निशुल्क, सुत्केरीलाई ५००० हजार भत्ताको ब्यवस्था छ । हाम्रो केन्द्रमा दिइने सेवाम भन्दा अत्यावश्यक प्रसुति सेवा चाहिने अवस्थामा देशभरका स्वास्थ्य केन्द्र जहाँ भएपनि जानसक्ने गरी एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्ने गरेको छु । यी लगायत भौतिक पूर्वाधार निर्माण, सडक, बाटोघाटो, पुल पुलेसा, कल्भर्ट आधुनिक कृषि उत्पादन, पशुपालन, मत्सेपालन लगायत धार्मिक साँस्कृतिक तथा पर्यटकिय क्षेत्रको संरक्षण, प्रवध्र्दनका कामहरू भइरहेका छन् । जुन कुरामा जनताको प्रत्यक्ष सहभागिता छ ।

० आगामी योजना के के छन् ?
बास्तवमै हाम्रो माडी नगरपालिका नेपालको नमुना नगरपालिका हो । धार्मिक, साँस्कृतिक, पर्यटकिय एवं भौगोलिक रुपमै सम्पन्न ठाउँ हो । बिकासका पूर्वाधार निर्माण गर्न सक्यौं र महत्वपूर्ण स्थलहरूको जगेर्ना र प्रवध्र्दन गर्न सक्यौं भने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षण गरी आयआर्जन बढाउन सक्छौं । भरखरै रामको जन्मभुमि माडी क्षेत्र हो भन्ने चर्चा पनि चलेको छ यसको अध्ययन अनुसन्धान पनि अझ सशक्त रुपमै गर्नु पर्दछ । नेपाल देवभुमि भएको कारण यसको सत्यता छ । परशुराम कुण्ड यही छ । भिमसेन मन्दिर, भिमसेन इनार, पंचपाण्डवहरूको भुमि, बुढी नदि, रिव खोला, मोदकधाम, वैकुण्ठ ताल लगायत धार्मिक क्षेत्र र चारकोसे झाडी, राष्टिय निकुञ्न क्षेत्र, स्वर्गसरी पहाड, आदिवासी थारुवस्ति सबै हेर्दा यो अलौकिक र आकर्षक क्षेत्र हो । वडा नं.१ पनि यी सबै प्रकारका धाम, क्षेत्र र गन्तब्य भएको वडा हो । वडालाई धार्मिक, साँस्कृतिक, पर्यटकिय क्षेत्रमा बिकास गराउँदै जनतामा सेवा र सुबिधा विस्तार गर्ने योजनाहरू छन् । समृध्द जनता र बिकासमा अब्बल वडाको रुपमा बिकास गर्ने मेरो लक्ष्य छ ।

० आश्वासन मात्र होइन नि ?
होइन, काम गरेर देखाएको छु । सिमित साधन स्रोतमा काम गर्नु पर्दामा अप्ठेराहरू त छन् तर कसरी हुन्छ सिमित बजेटमा धेरै काम गर्नु पर्छ भन्ने लागेर जन सहभागितालाई पनि अनिवार्य गरेको छु । जनश्रमदानको परिपाटी लगभग अन्त्य भइसकेको थियो । मैले पुनः सुरुवात गरेको छु । जनताले खुशीखुशी सहभागिता जनाउनु भएको छ । आफ्नै घरआँगन, टोल र वडाको बिकास मेरो पनि दायित्व हो भन्ने भावना पनि उहाँहरूमा छ । मैले निश्वार्थ सेवा गरेको हुँदा निशर्त जनसहभागिता पनि रहेको छ । हाम्रो वडाको बिकासमा मेरोमात्रै होइन सम्पुर्ण वडाबासिको महत्वपुर्ण भूमिका रहेको छ । हामी आश्वासन बाँड्न होइन काम गर्न आएका हौं । गर्छौं पनि ।

० अन्त्यमा वडावासीलाई के सन्देश दिन चाहनु हुन्छ ?
मेरो वडाका प्रत्येक जिम्मेवार वडावासीको विश्वास प्रति नतमस्तक छु, सबैलाई आभार ब्यक्त गर्दछु । तपाई हामी मिलेर अगाडी बढ्नु छ । वडासंगै माडी नगर पालिकालाई नै नमुना नगरको रुपमा स्थापित गर्नु छ । मैले ल्याएका योजनालाई सम्पन्न गर्न यहाँहरूले गरेको योगदान अत्यन्त सह्राहनिय छ । वडावासिको साथ सहयोग र सहभागिता प्रति आजीवन ऋणि रहेने छु । सकेसम्म यहाँहरूको सेवामा प्रतिबध्द रहने प्रण गर्दछु ।