Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकबाटै पुस्तक विमोचन

युवा साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’ अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’को शुक्रवार अनामनगर चौक मूल सडकबाटै लोकार्पण गरिएको छ । लोकार्पण समारोहमा समाजका प्रतिष्ठित व्यक्तित्व नेपाली साहित्य फाँटका प्रतिभाशाली लेखक, चलचित्रका दिग्गज कलाकर्मीहरूबाट सामूहिक रूपमा एकैसाथ महँगो चारतारे होटलदेखि विभिन्न सभागृहहरू र अन्य ठाउँबाट विमोचन गर्ने पुराना परिपाटीलाई थाँती राखी आमजनसमुदायलाई सन्देश दिने हेतुले ‘फुलारा लिट्रेचर फाउन्डेसन नेपाल’को आयोजनामा अनामनगर मूल सडकमा पुस्तकको लोकार्पण गरिएको थियो । विमोचन कार्यक्रममा जेष्ठ नागरिक, वरिष्ठ पत्रकार तथा समाजसेवी भैरव रिसाल, वरिष्ठ व्यक्तित्वहरू मोहनबहादुर केसी, इन्जिनियर दुर्गा वस्थी, स्वास्थ्यकर्मी प्रदीप रिमाल, वृत्तचित्र सम्पादक मानबहादुर थापा, उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवाली, पुस्तक अनुवादक ऋषि न्यौपानेलगायत दर्जनौँ लब्धप्रतिष्ठित व्यक्तित्वहरू तथा सयौँ सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तथा समाजसेवी भैरव रिसालले साहित्यकारहरूले सामाजिक तडक–भडक र महँगोमा पुस्तक लोकार्पण गर्ने परिपाटीलाई छिचोल्दै युवा लेखक फुलाराले जिरो व्यालेन्समा पनि पुस्तक विमोचन गर्न सकिन्छ भन्ने सन्देश आमनागरिकहरूमा दिन सकेकोमा गौरवान्वित महसुस गरेको बताउँदै युवा लेखक फुलाराको नयाँ कदमको तारिफ र बधाई तथा धन्यवाद ज्ञापन गरे । त्यसै गरी उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवालीले चर्चित युवा साहित्यकार फुलाराले जुन किसिमको साहित्यमा योगदान दिइरहेका छन्, उक्त कार्य युवा वर्गका लागि उदाहरण तथा प्रसंशनीय रहेको बताए । नेपाली साहित्यको विकासका लागि अङ्ग्रेजीमा अनुवादित यो पुस्तकले पाठकहरूलाई समाजमा यथार्थ घटना, परिघटना र समाजले भोग्नुपर्ने पीडालाई उतारेको चर्चा गरे । त्यसै गरी ‘टुहोरो कुण्डली’ पुस्तकका अनुवादक ऋषि न्यौपानेले पुस्तकमा भौगोलिक आञ्चलिकता रहेको र समाजले भोगेका मानवीय घटनालाई यथार्थरूपमा चित्रण गरेको बताए । यो पुस्तक मानवीय करुणारसले भरिएकाले आफूले अङ्ग्रजीमा अनुवाद गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नेपाली साहित्य इतिहासमा सम्भवतः पहिलो पटक मूल सडकबाटै पुस्तक विमोचन भएकोमा नयाँ शैलीको प्रयोग र फरक जनसमुदायमा उदाहरणीय रहेको भन्दै युवा लेखक फुलारालाई धन्यवादसहित बधाई ज्ञापन गरे । त्यसै गरी युवा उपन्यासकार तथा फुलारा लिट्रेचर फाउन्डेसन नेपालका अध्यक्षसमेत रहेका भीष्मराज फुलाराले आफू बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगाएर उपन्यास तयार पारेको बताए । सामाजिक संवेदना स्खलित हुँदै गएको आजको विश्व परिवेशमा उपन्यासले करुणा, दया–माया, सद्भाव र सहानुभूति जस्ता संवेदना उठान गरेर लेखेको हुनाले पाठकहरूलाई एकचोटि अवश्य पढेर प्रतिक्रिया दिन उनले आग्रह गरे । फुलारा लिट्रेचर फाउण्डेसन नेपालले बजार व्यवस्थापन सम्हालेको यो पुस्तकको मूल्य ५५० रहेको छ ।


सम्बन्धित समाचार