Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनमा भाँडभैलो

काठमाडौँ । भ्यागुताको धानी बनेको सत्ता गठबन्धनभित्र भाँडभैलो शुरु भएको छ । सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा गम्भीर नभएको भन्दै नेपाली कांग्रेससँग अन्य साझेदार दलहरू असन्तुष्ट बनेका छन् । बिहीबार भएको बैठकमा सिट बाँडफाँटसम्बन्धी कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको पछिल्लो प्रस्तावपछि गठबन्धनभित्र असन्तुष्टि झनै बढेको हो । सिटौलाले कांग्रेसलाई फाइदा हुने गरी नयाँ प्रस्ताव ल्याएको भन्दै जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादी असन्तुष्ट बनेका छन् । कांग्रेसबाहेकका गठबन्धनका अन्य दलले आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभाको सिट बाँडफाँटका लागि टुङ्गो लगाउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । तर‚ कांग्रेस भने आन्तरिक विवादलाई देखाउँदै बाँडफाँटलाई अन्तिम समयसम्म लैजाने र गठबन्धनका अन्य दललाई थोरै सिट दिँदा हुने परिस्थिति निर्माण गर्न चाहेको अन्य दलहरूको आरोप छ । कांग्रेसभित्रै शेखर कोइराला‚ गगन थापा समूह गठबन्धनका अन्य दलहरूका साथै इतर रहेको आफ्नो समूहलाई कम स्थानमात्रै दिन खोजेको भनेर असन्तुष्टि जनाउँदै आएका छन् । सिटौलाको प्रस्तावपछि जसपा सबैभन्दा बढी असन्तुष्ट देखिएको छ । बिहीबारको बैठकमा सिटौलाको प्रस्तावपछि कार्यदलको बैठक बस्न सकेको छैन । बिहीबार आन्तरिक रुपमा छलफल गरेर शुक्रबार कार्यदल बैठक बस्ने भनिएको थियो । यसैबीच जसपाले गठबन्धनभित्र सन्तोषजनक अवस्था नदेखिएको भन्दै अन्य दलहरूसँग पनि तालमेल गर्न सकिने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा सिट विषय निष्कर्षमा पुग्न नसकेको अवस्थामा जसपाको यस्तो चेतावनी आएको हो । गठबन्धनमा जसपाले प्रतिनिधिसभामा २० स्थानभन्दा बढी सिट दाबी गर्दै आएको छ । गठबन्धन भागबन्डा १२ देखि १३ स्थानमा मात्रै दिन सकिने सिटौलाको प्रस्तावमा रहेको छ । जसपाले एक्लै चुनाव लड्दा पनि कम्तीमा ९ स्थान जित्न सकिने भन्दै आफ्नो शक्तिलाई कम आँकेमा गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएको छ । अर्कोतर्फ एकीकृत समाजवादी पनि सिटौलाको पछिल्लो प्रस्तावमा असन्तुष्ट रहँदै आएको छ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भदौदेखि हरेक बैठक निर्णायक भन्दै बस्ने गरे पनि परिणाम आउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । कांग्रेसभित्र भने गठबन्धन हुँदा कम स्थानमात्रै हात पर्ने भन्दै एक्लै चुनावमा जान देउवा इतर पक्षले दबाब दिँदै आएको छ । कांग्रेसले गठबन्धनमा भागबन्डा हुँदा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १ सय ६५ सिटमध्ये ८० देखि ८५ सम्म स्थान गर्ने सम्भावना छ । गठबन्धनभित्र मधेसमा सिट बाँडफाँटको विषय गाँठो परेको छ । मधेसका कतिपय स्थानमा गठबन्धनको ४ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जपसाको दाबी रहेको छ ।