Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता स्वार्थमा सकिएका कम्युनिष्ट

चुनाव जित्नकै लागि लडिन्छ । तर सहकार्य, सहमति, देशको आवश्यकताअनुसार गरिन्छ । पार्टी कार्यकर्ताको भावना भनिन्छ तर चाहना नेताको हुन्छ । नेताको स्वार्थमा पार्टी एकता भएका हुन्छन् । एमाले माओवादी एकता जनताको भावना थियो । धेरै कम्युनिष्टका गोठ राख्नु भन्दा एजेन्डा मिल्नेसँग पार्टी एकता आवश्यकता थियो भयो । तर त्यहाँ स्वार्थ केपी र प्रचण्डको मिलेको हो । केपीले आफू प्रम बन्न माओवादीलाई मिलाएका हुन् नेकपा मसाल चुनावी मोर्चामा मिलेको मात्र हो । एमाले ओली गुटले सत्ताका लागि गरेको सम्झौता आफू प्रम बन्नु थियो । उनी प्रम भए ४१ महिना हुकुम चलाए । कम्युनिष्ट आचरण र सिद्धान्त केपीको खेलौना भयो ।
नेपालमा कम्युनिष्ट सत्तालाई असफल बनाउने केपीले हो । उनी श्री ३ महाराज भए, दलाल बढाए, माफियासँग साँठगाँठ गरे । सरकारी राजश्व डुबाए । जनता दास, कार्यकर्ता हनुमान, नेता दलालका रुपमा खडा भए । ओली जे भन्छन् त्यसमा कुनै प्रतिवाद गर्ने हैसियतका नेता त्यहाँ छैनन् । जालझेल, तिकडम ओलीको आदर्श भयो । आफू शिशाको दरबारमा बसेर सडकमा हिँडेका बटुवाको टाउकोमा थुक्दा जस्तो लडाइँ हुन्छ ओलीले प्रचण्ड, माधवमाथि गरेको व्यवहार त्यही थियो । राजनीतिमा जेठो कान्छो हुन्छ । झलनाथ, माधव, वामदेव भन्दा ओली कान्छो नै हुन्, स्व. मदन भण्डारीले नेतृत्व दिन हुन्न भन्थे तर भण्डारी पत्नी विद्या ओलीको इशारा बिना चल्न नसक्ने भइन् । ओलीको इज्जत र सान त थिएन र छैन । पहिलो राष्ट्रपति डा. रामवरण यादवले ओली र काँग्रेसको उक्साहटमा मन्त्रीपरिषद्को निर्णमाथि प्रहार गरे । तर माओवादीको पक्षमा जनताले दिएको जनवाद दलाल र पुँजीवादमा नै भास्सियो । निर्वाचित सरकारमाथि जसरी रामवरणको भूत उफ्रियो त्यस्तै चाल र वातावरण ओलीको भूत विद्या भण्डारीले नै जगाएर नागरिकता विधेयक थन्क्याइन् । सशस्त्र युद्धका नाममा १७ हजार मानिस मारिए । माओवादी पनि कतै जिम्मेवार भएन । नेतालाई शासक बन्न बन्दूक उठाउने फौजबाट छानिएकामाथि समान व्यवहार भएन । प्रचण्ड, बाबुराम, मोहन वैद्य जस्ता सत्ता लम्पट, पदका भोकाहरूले माओवादीको विचारमाथि रजाइँ त गरे तर उनीहरू त्यो स्थानमा निरन्तरता दिन सकेनन् । एमालेको ओली ब्राण्ड न त ०६२÷६३ को आन्दोलनकारी भयो न त देशभक्त बन्न सक्यो । भारतीय गुप्तचर समेन्त गोयलको निर्देशनमा चल्ने केपीले संसदमाथि बारम्बार प्रहार गरे ।
कम्युनिष्ट पार्टी सशक्त बन्न नसक्ने अवस्था केपी ओलीको ४१ महिने लुटेरा शासन नै काफी छ । स्थानीय तहमा एमालेका हुण्डरी विद्या सुन्दर शाक्य नै प्रमाण हुन् । शाक्यले राम्रो गर्थे भने काठमाडौंमा बालेन शाहको अहिलेको घनचक्कर देख्नु पर्ने थिएन । काठमाडौं महानगरमा बहुमत वडा सदस्य, अध्यक्ष, कार्यपालिका सदस्यमा एमालेका छन् तर ठेलागाडामा सामान बेच्ने दुःखी र गरिबको चित्कार तिनले सुन्न सकेका छैनन् । स्थानीय सरकारका महाराज बनेका बालेनले सार्वजनिक सम्पत्तिको संरक्षण गरेका छन् । तर महानगरको बेथिति हटाउने र सुशासन दिने काम भएन । एमालेको ओली पथले कम्युनिष्ट पार्टीलाई नेपालको सत्ता प्राप्त हुने सपना नदेखे हुन्छ । जनमत नेकपासँग छ । काँग्रेसले बहुमत माथि अल्पमतको शासन गरेकै हो । अहिले नीति, थिति, विधि, प्रक्रिया सिद्धान्त, विचारअनुसार कोही चलेकै छैनन् । कम्युनिष्टसँग पूर्व पञ्चको एकता र काँग्रेस र अर्का कम्यु्निष्टबीचमा एकता भएको देखियो । यहाँ पदीय स्वार्थ मिलेको छ । तर केपी ओलीको जीवनमा कम्युनिष्ट बीचको एकता, सहकार्य हुने लक्षण छैन । एमाले वैचारिक रुपमा पतन भएको शक्ति हो । त्यसले जनता र राष्ट्रको स्वार्थमा काम गर्न सक्दैन । किनकि एमालेका कारण नेपालको कम्युनिष्ट आन्दोलन तहसनहस भएको बुझ्न कठिन छैन । किनकि सत्ता स्वार्थ नै यो बेला सर्वोपरि बन्दैछ ।