Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारभन्दा ठूला ठेकेदार : चावहिल सडक छ वर्षदेखि उस्तै

काठमाडौं । सडक विभागका महानिर्देशकहरु तीन जना फेरिए, भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री पनि तीनै जना फेरिए । काँग्रेसका विमलेन्द्र निधि मन्त्री बन्दा गौशालादेखि चावहिलसम्मको १२ किलोमिटर सडकका निम्ति काठमाडौं सडक डिभिजन कार्यालय अन्तर्गत रहने गरी सडक विस्तार आयोजनाले रु १ अर्ब ७५ करोडको ठेक्का दिएको थियो । सो ठेक्कामा बज्रगुरु, चाङमिला खानी जेभी, युनाइटेड विल्डर्स, बिरुवाखानी जेभी, बिटो सुनकोशी वल्र्डवाइड जेभी कम्पनीले ठेक्का लिएका थिए । १२ किलोमिटर सो सडक पाँच वर्षसम्म भद्रगोल स्थितिमा रहेको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत भौतिक पूर्वाधार मन्त्रीहरुको साथ लागेर दुई पटकसम्म चावहिलदेखि जोरपाटीसम्मको आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सडकको निरीक्षण गरे । त्यतिखेर ठेकेदार र सडक विभागका महानिर्देशकहरु पनि निरीक्षणमा सँगै थिए । ०७२ मा काम शुरु गरी ०७४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको १८ मिटर सडक र ४ मिटर अपाङ्गता मैत्री फुटपाथ निर्माण गर्ने ठेक्का लिएका ठेकेदारहरुलाई शुरुमा काम छल्न स्थानीय जनताको अवरोध पनि निहुँ बन्यो । चक्रपथसँग जोडिएको सो खण्डमा खानेपानी पाइप, ढल, विद्युतीय तार र टेलिफोन लाइन समेत बाधक बन्न पुगे ।

अहिले यी योजनाहरु सम्पन्न भए पनि सडक पिच गर्ने र फुथपाथ निर्माण गर्ने काम अलपत्र अवस्थामा छ । तर काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपाली भने वर्षाद्को कारण पिच गर्न नसकिएको बताइरहेका छन् । देश लकडाउनमा भएका बेला सडक विभागले स्वास्थ्य मापदण्ड पूरा गरी ठूला सडकहरुको मर्मतसम्भार गर्यो । त्यसको गुणस्तर कस्तो रहेछ भन्ने कुरा दुई चार दिनको झरीले देखाइसकेको छ । संघीय सरकारको नजरमा पर्ने विश्व सम्पदा सूचिसँग जोडिएको पशुपति क्षेत्रभित्र यस्तो हालत छ भने भक्तपुरबाट नगरकोट जाने सडक निर्माण गर्ने ठेक्का लिएको नेकपा अध्यक्ष प्रचण्डका घरवेटी शारदा प्रसाद अधिकारीको सैलुङ कन्ट्रक्सनले गरेको लापरबाही छानविन गर्ने हिम्मत कसको हुने ? सो सडक हुँदै पर्यटकीय क्षेत्र नगरकोट जाने पर्यटकहरुको बिजोग थियो । अहिले कोरोनाका कारण पर्यटन व्यवसाय ठप्प भए पनि नगरकोटका होटलहरुले सरसफाई अभियान चलाएका छन् ।

भक्तपुरबाट नगरकोटसम्मको सडकको विषयलाई लिएर स्थानीय जनताले सो सडकमा चल्ने बहसहरुमा ठेकेदार अधिकारीको तस्बिरसहितको फ्लेक्स टाँटेर विरोध पनि गरेका हुन् । तर गैंडाका छाला जस्ता र ठूलो छहारी पाएका अधिकारीले जनताका अगाडि आश्वासन दिए तर जिम्मेवारी अहिलेसम्म पनि पूरा गरेका छैनन् । चावहिल सडक र नगरकोट खण्डको सडकको अविगत ६ वर्षदेखि उस्तै छ । एउटा ठेकेदारलाई समेत तह नीति नियम अनुसार काम गराउन नसक्ने सरकारले के पानी जहाज र रेलका भाषण दिनु ?