Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारले आईटीका ९ प्रकारका पदमा कर्मचारी माग्यो, मासिक तलब साढे २ लाखसम्म

काठमाडौँ । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रका विभिन्न पदमा आकर्षक पारिश्रमिकसहित कर्मचारी माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सूचना प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि नौ प्रकारका पदमा आवेदन आह्वान गरेको हो।

केन्द्रले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रमुख प्रविधि विज्ञ पदका लागि मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ। त्यस्तै, प्रोजेक्ट म्यानेजर तथा विभिन्न क्षेत्रका सेक्टर प्रमुखका लागि मासिक २ लाख रुपैयाँसम्म पारिश्रमिक तोकिएको छ।

केन्द्रले प्रमुख प्रविधि विज्ञ एक जना, प्रोजेक्ट म्यानेजर दुई जना, सेक्टर प्रमुख (प्रोजेक्ट तथा बिजनेस एनालिसिस) एक जना, सेक्टर प्रमुख (सफ्टवेयर इन्जिनियरिङ) एक जना, सेक्टर प्रमुख (क्वालिटी एनालिसिस) एक जना र सेक्टर प्रमुख (इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स) एक जना माग गरेको छ।

त्यसैगरी, सिस्टम एनालिस्ट चार जना, सिनियर डेभलपर तीन जना र सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटर दुई जना आवश्यक रहेको सूचनामा उल्लेख छ।

पारिश्रमिकतर्फ सिस्टम एनालिस्टका लागि मासिक १ लाख ६० हजार रुपैयाँ, सिनियर डेभलपरका लागि १ लाख ४० हजार रुपैयाँ र सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटरका लागि १ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ।

स्नातकोत्तरदेखि स्नातकसम्मको योग्यता आवश्यक

माग गरिएका पदका लागि सूचना प्रविधिसँग सम्बन्धित शैक्षिक योग्यता तोकिएको छ। प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजरका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ भने अन्य पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

पदअनुसार आवश्यक प्राविधिक दक्षता पनि फरक–फरक तोकिएको छ। प्रमुख प्रविधि विज्ञका लागि प्रविधि रणनीति निर्माण, नेतृत्व, साइबर सुरक्षा, सुशासन र प्रणाली एकीकरणसम्बन्धी ज्ञान तथा अनुभव आवश्यक पर्नेछ।

प्रोजेक्ट म्यानेजरका लागि परियोजना योजना, समन्वय, जोखिम व्यवस्थापन, कार्यान्वयन र स्रोत व्यवस्थापनमा दक्षता खोजिएको छ। सफ्टवेयर इन्जिनियरिङतर्फका सेक्टर प्रमुखका लागि कोड समीक्षा, एपीआई डिजाइन, सुरक्षित सफ्टवेयर विकास र रिलिज व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक छ।

त्यस्तै, क्वालिटी एनालिसिसतर्फ परीक्षण रणनीति निर्माण, परीक्षण स्वचालन र त्रुटि विश्लेषणमा दक्षता हुनुपर्नेछ। इन्फ्रास्ट्रक्चर तथा अपरेसन्सतर्फ प्रणालीको विश्वसनीयता, सञ्चालन, क्षमता योजना र प्राविधिक समस्या व्यवस्थापनसम्बन्धी सीप आवश्यक पर्ने सूचनामा जनाइएको छ।

सरकारी निकायका सूचना प्रणालीको विकास, स्तरोन्नति र सञ्चालनलाई प्रभावकारी बनाउने तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ।