Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्बियामा ११ नेपाली बन्धक

वैदेशिक रोजगारीका लागि सर्बिया पुगेका नेपालीलाई इजिप्ट लगिदिने प्रलोभनमा मानव तस्करले बन्धक बनाएको पाइएको छ । तस्करले झापाका पाँचसहित ११ जनालाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियाको जंगलमा बन्धक बनाएर परिवारजनलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ फिरौती रकम मागेको हो ।
पारिवारिक स्रोतका अनुसार शनिबार राति नै तीन जनाको ९ लाख रुपैयाँ रकम पठाइएको छ । उक्त रकम रोमानियामा बस्ने एक नेपाली एजेन्टमार्फत तस्करसम्म पुर्‍याइएको पीडितका परिवारले खुलाए ।

एजेन्टलाई साढे छ लाख रुपैयाँ बुझाएर गत चैत दोस्रो साता सर्बिया पुगेका बिर्तामोड नगरपालिका–२ का ४५ वर्षीय आमाशु राजवंशीले त्यहाँ बोलकबोलअनुसारको तलब नपाएपछि इजिप्ट जाने मनसाय बनाएका थिए । काठमाडौंको एफएस वर्कर्स एजेन्सी सञ्चालक विज्ञान खनालमार्फत सर्बिया पुगेका आमाशुलाई साढे ५ सय युरो तलब हुने बताइएको थियो । यसअघि उनै खनालले आमाशुलाई रोमानिया पुर्‍याइदिने भन्दै झन्डै १४ महिना झुलाएपछि सर्बिया पुर्‍याएका थिए ।

सहकारी, लघुवित्तलगायतबाट ऋण लिएर विदेश हान्निएका आमाशुलाई रोमानियामा रहेका आफन्त पर्ने नेपालीले नै राम्रो काम र तलबको लोभ देखाएर इजिप्ट लगिदिने आश्वासन दिएका थिए । आमाशुसँगै सर्बिया पुगेका २५ वर्षका पशुपति राजवंशी, बाह्रदशी–५ का २९ वर्षीय दीपेश राजवंशी, शिवसताक्षी नगरपालिकाका बम राजवंशीलगायत ११ जनाको टोली नै इजिप्ट जान लागेको थियो । तर इजिप्ट लगिदिने भनिएका तस्करले नै उनीहरूलाई बन्धक बनाएको हो ।