Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहमतिको अन्तिम प्रयासमा गठबन्धन

काठमाडौं । सत्ता र स्वार्थअनुसार एमसीसीमाथि धारणा बनाउँदा राजनीतिक रुपमा गिजोलिएको मएसीसीमाथि सत्ता गठबन्धनले सहमतिको अन्तिम प्रयास थालेको छ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो । संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ । शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।
नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी पनि एमसीसीको पक्षमा लचिलो भएको बुझिएको छ । आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध कायमै राख्ने जनाएको छ ।