Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपबारे रास्वपाले थाल्यो आन्तरिक छानबिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले फोनमार्फत महिलामाथि दुर्व्यवहार गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन सुरु गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको बताएका छन्।

छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पनि आचार्यले जानकारी दिएका छन्।

‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको आचार्यले बताएका छन्।

सार्वजनिक भएको भनिएको अडियोमा महिलामाथि दुर्व्यवहार गर्ने, धम्की दिने तथा लेनदेनसम्बन्धी कुराकानी सुनिएको दाबी गरिएको छ।

रास्वपाले यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने जनाएको छ। पार्टीले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रति प्रतिबद्धता व्यक्त गर्दै महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।

‘विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ।

महामन्त्री आचार्यले सांसद सुनारमाथि राज्यका अन्य निकायबाट हुने अनुसन्धान प्रक्रियामा पनि पार्टीले सहयोग गर्ने बताएका छन्।

पार्टीको आन्तरिक छानबिनबाट घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक निर्णय लिइने रास्वपाले जनाएको छ।