Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुदूरपश्चिममा बाढी र पहिरोका कारण १४ जनाको ज्यान गयो, २८ बेपत्ता

कैलाली । अविरल वर्षाका कारण बाढी र पहिरोमा परि सुदूरपश्चिममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ९ जना, बैतडीमा तीन जना र र डडेलधुरामा दुई जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा डोटी शिखर नगरपालिका–११ की अन्दाजी ३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् । डोटीकै सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई १५ वर्षीय सागर कुन्जेडा र ११ वर्षका आशिष कुन्जेडाको पनि मृत्यु भएको छ । शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको उपचारका क्रममा मृत्यु भएको छ । पहिरोबाट खसेको ढुङ्गा टाउकोमा लागेर घाइते भएकी बलायरलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
बैतडीको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की उनका २४ वर्षीया श्रीमान भानु पार्की तथा तीन वर्र्षीया छोरी सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् । डेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थी र ६५ वर्षीया नरपति शाहीको मृत्यु भएको छ ।
बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरो परि २३ जना बेपत्ता छन् । थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनकारी दिएको छ । बेपत्ता हुनेमा उजली पार्की, हासु पार्की, आयुश पार्की, हिमा पार्की , सिमा पार्की, हर्क सार्की , धनगिरि सार्की, सिता सार्की, प्रभा सार्की, भूमिका सार्की, ईस्वरा देवी सार्की, सञ्जीव सार्की, शर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की र सिम्जिबी सार्की रहेका छन् ।
यसैगरी, बाढीमा परेर कैलालीमा चार जना र डोटीमा एक जना गरी पाँच जना बेपत्ता छन् । कैलालीका गणेश आउजी, खडकबहादुर घर्तीमगर, विक्रम घर्तीमगर, खडक रानामगर रहेका छन् भने डोटीमा बिरे रोकाया बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
उता, बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्दारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्दारको पर्खाइमा बसेका उनीहरूले जतिसक्दो छिटो उद्दार गरिदिन आग्रह गरेका छन् । मंगलवार उनीहरूको उद्दार गर्ने तयारी भए पनि मौसम प्रतिकुल बन्दा सम्भव भएन । बुधवार बिहानै उनीहरूलाई उद्दार गर्न नेपाली सेनासँग समन्वय भइरहेको सुदूरपश्चिम प्रदेश सरकाकि प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।