Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षाकर्मीलाई घरायसी काममा लगाए उजुरी गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मीलाई व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएको पाइए उजुरी गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुरक्षाकर्मीलाई सुरक्षा प्रयोजनबाहेक अन्य काममा प्रयोग गरिएको पाइएमा गृह मन्त्रालयको कल सेन्टरमा जानकारी गराउन अनुरोध गरेको हो।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ अनुसार बहालवाला तथा पूर्वपदाधिकारीलाई व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) उपलब्ध गराउने व्यवस्था छ। तर, कार्यविधिमा तोकिएको व्यवस्थाविपरीत सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई असोज २२ गते नै निर्देशन दिइसकिएको छ।

निर्देशन र कार्यविधिविपरीत सुरक्षाकर्मी खटाएको पाइएमा सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

सुरक्षाकर्मीलाई व्यक्तिगत वा घरायसी काममा प्रयोग गरिएको पाइएमा सुरक्षाकर्मी स्वयं वा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी दिन वा उजुरी गर्न सक्नेछन्।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले उजुरी वा सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने बताएका छन्।