Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । चक्कु आक्रमणको घटनाको पाँच दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । मंगलवार मध्यान्नमा उनी आफ्नो घर फर्किएका छन् ।
बलिउड अभिनेता सैफ अली खानमाथि पाँच दिन अघि आफ्नै निवासमा मध्यरातमा चक्कुबाट आक्रमण भएको थियो । अज्ञात व्यक्तिको चक्कु प्रहारपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । सो आक्रमणपछि उनको उपचार मुम्बईको लीलावती अस्पताल भएको हो । पाँच दिनको अस्पताल बसाईपछि उनको स्वास्थ्यमा सुधार देखिएपछि घरमै बसेर आराम गर्ने सैफको चाहना अनुसार मंगलवार घर पठाएको लीलावती अस्पतालका चिकित्सकले जनाएका छन् ।
सैफलाई मंगलवार घर पठाउँदा उनको निवास आसपासमा प्रहरीको सुरक्षा बढाइएको मुम्बई प्रहरीले जनाएको छ । अहिले सैफको निजी सुरक्षा पनि बढाइएको छ । साथै आफूहरूले पनि उनको सुरक्षा बढाएको उनको गृह क्षेत्रका डिसिपीले सञ्चारकर्मीलाई बताएका छन् । उनीमाथिको आक्रमण पछि अरु स्टार चलचित्रकर्मीहरूको वासस्थान आसपासमा पनि प्रहरीले अहिले सुरक्षा बढाएको छ ।
गत १६ जनवरी राती २ बजेपछि आफ्नै निवासमा अज्ञात व्यक्तिबाट भएको आक्रमणमा सैफ अली खानलाई धेरै पटक चक्कु प्रहार गरिएको थियो । जसका कारण यी अभिनेता गम्भीर घाइते भएका थिए । उनको घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको थियो भने हातमा पनि चोट थियो । उनको लीलावती अस्पतालमा उनको विभिन्न चरणको शल्यक्रिया गरिएको थियो । आक्रमणमा सैफलाई तीन ठाउँमा चोट लागेको चिकित्सकहरूले बताएका छन् । हातमा दुई वटा चोट लागेको छ भने घाँटीको दाहिने भागमा पनि गहिरो घाउ छ । उनको मेरुदण्डमा गम्भीर चोट भएकाले सोही अनुसार उपचार गरिएको पनि चिकित्सकको कथन छ । सैफ अली खानको शल्यक्रियाको क्रममा डाक्टरहरूले उनको मेरुदण्डमा अड्किएको धारिलो वस्तु ९चक्कुको टुप्पो० पनि निकालेको जनाएका छन् ।
मंगलवार अस्पतालबाट डिस्चार्ज भएका यी अभिनेताले घरमा कम्तीमा पनि तीन सातासम्म पूर्ण आराम गर्नु पर्ने चिकित्सकको सल्लाह छ । तत्कालै बाहिर हिँड्दा घाउमा इन्फेक्सन हुन सक्ने सुझाव पनि चिकित्सकले दिएका छन् । सो सुझावलाई आफूले पूर्ण पालना गर्ने यी अभिनेताको कथन छ । अभिनेता सैफ घर आएपछि उनका परिवारमा केही खुसी देखिएको छ ।
प्रहरीले चक्कु आक्रमणको घटनालाई हरेक कोणबाट अनुसन्धान गरिरहेको छ । आइतबार प्रहरीले आरोपी शरीफुल इस्लाम शहजाद मोहम्मदलाई मुम्बईको ठानेबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार अभियुक्त बंगलादेशको नागरिक हुन र उनी अवैध रूपमा भारत प्रवेश गरेको थिए । ३० वर्षीय शहजाद चोरी गर्ने उद्देश्यले सैफ अली खानको घरमा प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । शहजादको अनुसन्धान पुरा गरेपछि उनलाई अदालतमा पेस गरिने र त्यसपछि अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने पनि मुम्बई प्रहरीले मंगलवार जनाएको छ ।
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल