Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हल्लिएकै हो त प्रचण्डको कुर्सी ?

काठमाडौं। राजनीतिक दलहरु जब समस्यामा पर्छन् तब जनताको खोजी हुन्छ आन्दोलनका कुरा आउँछन् । सत्तारुढ नेकपा माओवादी केन्द्रले व्यवस्थाको रक्षार्थ शक्ति प्रदर्शन गर्ने जनाएको छ। आफैंले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले व्यवस्थामाथि नै संकट आएको संशयपूर्ण अभिव्यक्ति प्रकट गर्दै प्रतिरक्षात्मक बन्न पुगेको छ। माओवादीको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालन भएको तीन महिने अभियानलाई एक महिना थप गर्ने निर्णय समेत गरेको छ। माओवादी शान्ति प्रक्रियामा आएको दुई दशक पुग्नै लाग्दा सांगठनिक अवस्था क्षिण बन्दै गएको छ। विगतको सांगठनिक आरोला यात्रा पूर्ववत् अवस्थामा फर्काउने भन्दै गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको छ। देशभरका नेता कार्यकर्तालाई परिचालन गर्दै जनतासँग एकाकार हुने गरी माओवादी अभियानमा होमिएको छ। माओवादीले वर्तमान व्यवस्था आफ्नो नेतृत्वमा सञ्चालित दश वर्षे जनयुद्धको उपजको रुपमा आएको व्याख्या गर्ने गर्दछ। तसर्थ यसको रक्षाको दायित्व पनि आफूहरुको भएको उसको दाबी छ। सरकारको नेतृत्व गरिरहेको माओवादीले राज्यसंयन्त्रको परिचालन गरेर व्यवस्थाप्रति अपनत्वबोध गराउने भन्दा पनि सडक संघर्ष गरेर गणतन्त्रमाथिको खतराबाट उन्मुक्ति दिलाउने प्रपञ्च थाल्नु निकै हास्यास्पद देखिएको छ। एकातिर सरकारमा रहेर सम्पूर्ण संयन्त्र आफ्नो मातहत हुँदा पनि सडकमा जनता ओरालेर व्यवस्थाको रक्षा गर्ने जमर्को गरेको छ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान व्यवस्था संकटमा परेको स्वीकारोक्ति प्रकट गर्नुले जनतामा असन्तुष्टि व्याप्त रहेको दर्शाउँछ। जनताका आधारभूत आवश्यकताहरु परिपूर्ती गर्न नसक्ने तर व्यवस्था संकटमा परेको हवाला दिँदै सडक आन्दोलनको हुँकार गर्ने प्रवृत्ति आफ्नो कमजोरी ढाकछोप गर्दै समस्यालाई अन्यत्र विषयान्तर गर्ने पुरानै प्रचलन हो। माओवादीको यही २२ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने अभिष्ट पनि सरकारमा रहेर काम गर्न नसकेरै अक्षमता प्रकट गर्ने कडीका रुपमा लिन सकिन्छ।
सरकारको पटक पटक नेतृत्व गर्ने अवसर पाएर पनि जनहितकारी काम गर्न नसक्ने परिपाटिको बाधक व्यवस्था नभएर इच्छाशक्ति हो भन्ने बोध माओवादीले गर्न सकिरहेको छैन। आफ्नो नेतृत्वमा सरकार सउञ्चालन गरिररहेको माओवादलीले अहिलेको व्यवस्थाको संकट ल्याउने कारक को होरु स्पष्टताका साथ किटान गर्नुपर्छ। अन्यथा जनताको आँखामा छारो हाल्न व्यवस्थामाथि संकट हौवा फैलाएर अमुर्त गफ चुट्नु कमजोरीको बचाउमा जनताको ध्यान अन्यत्र मोड्ने ध्याउन्न मात्रै हो। यसले संकटको निवारण होइन थप संकट निम्त्याउने खतरा कायमै रहन्छ। किनभने संकटको कारण पहिल्याएर निवारण गर्नुको साटो जप्रदर्शन गर्ने प्रचलनले संकट झनै विकराल बन्दै जाने खतरा यथावत रहन्छ। तसर्थ अहिलेको मुलुकको आर्थिक, राजनीतिक संकटको निवारण सर्वपक्षीय छलफलबाट मात्रै सम्भव छ। जनतालाई दिग्भ्रमित तुल्याउन सडक आन्दोलनको घोषणा गरेको माओवादीले सरकारमा रहँदा वर्तमान समस्याको न्यूनीकरणमा उसको भूमिका कति रह्यो ? त्यसको लेखाजोखा गर्न जरुरी छ। देशका ज्वलन्त समस्याको सम्बोधन गर्न कुनै तदारुकता नदेखाउने तर जहिल्यै व्यवस्थामाथि संकट देखाएर सत्तारोहणमा रम्ने माओवादीको अवसरवादी द्वैध चरित्र फेरि एकपटक सतहमा उजागर हुँदैछ। यसले मुलुक र जनताको हितमा कुनै भूमिका निर्वाह नगरेरै माओवादीको गुमेको साख फिर्ता ल्याउने प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको दिवास्वप्न बाहेक अरु केही होइन। सरकारमा रहेर आफैंसँग त्रसित बनेका दाहालको सहानुभूती बटुल्ने नयाँ अस्त्रका रुपमा उनले सडक संघर्षको हुँकार गरेका हुन्। उनको अक्षमता ढाकछोप गर्न आयोजना गरिएको सडक प्रदर्शन माओवादीका लागि फलदायी भन्दा पनि थप प्रत्युत्पादक हुने निश्चित छ।


सम्बन्धित समाचार