Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१४ किलो सुन प्रकरण अख्तियारले केलाउँदै

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन गर्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखेपछि आयोगले अनुसन्धान प्रकृया अघि बढाएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त सुन तस्करी प्रकरणमा जोडिएका सरकारी कर्मचारीमाथि अनुसन्धान गर्नु पर्ने भन्दै पत्रचार गरेको हो । सरकारी वकिलको उक्त निर्देशनपछि अख्तियारले उक्त प्रकरणमा अनुसन्धान गर्ने जनाएको छ। सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २०८० मंसिर २१ गते राती फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो। घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा अदालतले आरोपीहरुलाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ। त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन पत्र लेखेको हो। त्यस्तै सम्पत्ति शुद्धीकरण विभागलाई पनि यो प्रकरणमा अनुसन्धान गर्न भनिएको छ। सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु समेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ। प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको अभियोगपत्रमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले कुनै निकायबारे निर्णय भएर आएको विषयलाई आयोगले उजुरीका रुपमा लिने र अनुसन्धान अघि बढाउने अभ्यास रहेको बताए । सरकारी वकिलको कार्यालयबाट आउने फाइललाई पनि त्यही रुपमा लिएर अनुसन्धान सुरु हुने उनले बताए। १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिइसकेको छ । विमानस्थल भन्सार कार्यालयले २१ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो। उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए। अनुसन्धानका क्रममा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेपछि उनीहरुको विरुद्ध मुद्धा दायर भएको थियो । उनीहरु सबैलाई सुन तस्करीको मुद्दामा थुनामा पठाउने आदेश भएको भन्सारले जनाएको छ।भन्सारले यो मामलामा क्रिप्टोकरेन्सी र मानवबेचबिखन पनि जोडिएको भन्दै थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पनि पत्राचार गरेको छ। सो प्रकरणमा जोडिएका दुई जना अझै फरार छन्। व्यवसायी विमल पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धानमा तानिएका छन् ।


सम्बन्धित समाचार